वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण हटाउन आइतबारदेखि एक्साभेटर प्रयोग गरी अस्थायी घरटहरा हटाउन थालेको छ ।
महानगरले दुई पटकसम्म सार्वजनिक सूचना जारी गरेर अस्थायी घर टहरा, तरकारी तथा फलफूल बजार हटाउन निर्देशन दिएको थियो । तोकिएको समयभित्र स्थान खाली नगरेपछि नगरपालिकाले करिब ४० अस्थायी संरचना हटाएको हो ।
महानगरपालिकाले बिपी उद्यानमा रहेको करिब २५० अस्थायी घर टहरा, तरकारी, फलफूल तथा कपडा पसल र विभिन्न खानाका स्टल हटाउनका लागि उपयुक्त विकल्प प्रदान गर्दै स्थान खाली गर्न आग्रह गरेको जनाएको छ ।
तरकारी तथा फलफूल व्यापार गर्ने व्यापारीलाई वडा नं १६ नगरवास्थित कृषि बजारमा स्थानान्तरण गरिने व्यवस्था गरिएको छ । महानगरका अनुसार उद्यानलाई व्यवस्थित गरी पर्यटकहरूका लागि आकर्षक पार्क बनाउने योजना अघि बढाइएको छ ।
यसअघि, गत मंसिर २६ गते १५ दिने सार्वजनिक सूचना र पुस १२ गते सात दिने सूचना जारी गरिएको थियो । तर, तोकिएको समयभित्र अतिक्रमण खाली नगरेपछि एक्साभेटर प्रयोग गरी स्थान खाली गराइएको हो ।
बिपी उद्यानमा व्यापार गर्दै आएका व्यापारीहरूले स्थानान्तरणका कारण आफ्नो दैनिकीमा अन्योल सिर्जना भएको बताउँदै महानगरको कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरूले सबै अतिक्रमण हटाउन समान व्यवहार गर्नुपर्ने माग गरेका छन् । महानगरले अतिक्रमित स्थान खाली गरेपछि पर्यटकहरूको आकर्षण बढाउन उद्यानलाई व्यवस्थित गर्ने काम जारी राख्ने जनाएको छ ।




