रौतहट । रौतहट जिल्लाका दुई पालिकामा जङ्गली हात्तीको बथानले १२ भन्दा बढी घर भत्काइदिएपछि स्थानीय बासिन्दा त्रासमा छन् । दुई साताअघि चन्द्रपुर नगरपालिका र फतुवा विजयपुर नगरपालिकाका विभिन्न बस्तीमा हात्तीले घर तथा बालीमा ठूलो क्षति पुर्याएको हो ।
चन्द्रपुरमा ठूलो क्षति
चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारमा ७ घर र वडा नं. २ जुडिबेलामा १ घर हात्तीले भत्काएको छ । गैडाटारका स्थानीयका अनुसार सन्तबहादुर रुम्बा, मीना राई, छेनाम सिंह लोप्चन, बली माया लोप्चन, बोम्जन साइँला, सुबास ठोकर र साइँला गोलेका घर हात्तीले नष्ट गरिदिएको छ ।
जुडिबेलामा एक घर भत्काउनुका साथै कालापानी सामुदायिक वन क्षेत्रमा बनेको पार्क र पानी घट्टमा समेत हात्तीले क्षति पुर्याएको छ । चन्द्रपुरको विभिन्न वडामा हात्तीले घर, टहरा, गोठ र धानको भकारी नष्ट गर्नुका साथै किसानका बाली पनि नष्ट गरिदिएको छ । यसले गर्दा स्थानीय बासिन्दा निरन्तर त्रासमा छन् ।
फतुवा विजयपुरमा पनि हात्तीको उपद्रव
फतुवा विजयपुर नगरपालिका वडा नं. ११ वुटवा बस्तीमा हात्तीले ४ घरमा क्षति पुर्याएको छ । स्थानीयका अनुसार उदय चौधरी, मिलन मगर र हरिशरण मैनालीको घरमा हात्तीले नोक्सानी गरेको छ । हात्तीले विशेष गरी केरा खेतीमा ठूलो क्षति पुर्याएको किसानहरूले गुनासो गरेका छन् ।
रातभर त्रासमा बासिन्दा
सामुदायिक वन क्षेत्रमा ७/८ वटा समूहमा हात्ती देखा परेको बताइएको छ । रातिको समयमा हात्ती बस्ती नजिक आउने गरेकाले स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन् । हात्तीले बस्तीमा प्रवेश गर्ने सम्भावना बढेकाले वरपरका बासिन्दा डरका साथ दिन काटिरहेका छन् ।
वन कार्यालयको सतर्कता अपिल
डिभिजन वन कार्यालय रौतहटले जङ्गली हात्तीको उपद्रव रोक्नका लागि सतर्कता अपनाउन बासिन्दालाई आग्रह गरेको छ । सम्भावित हात्ती हिँड्ने बाटोमा यात्रा गर्दा सावधानी अपनाउन र झिसमिसेमा यात्रा नगर्न सल्लाह दिइएको छ । वन कार्यालयले समस्या समाधानका लागि थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




