वीरगञ्ज । अब पर्सा जिल्लाका सबै वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहका वडा कार्यालयहरूलाई नयाँ नागरिकताको सिफारिस अनलाइन प्रविधिबाट गर्न निर्देशन दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले एक सूचना जारी गर्दै नागरिकता सिफारिसको प्रक्रिया डिजिटल बनाउने उद्देश्यले स्थानीय तहका सूचना प्रविधि अधिकृत र वडा सचिवहरूलाई अनलाइन प्रणालीको उपयोग गर्न आग्रह गरेका छन् ।
यो व्यवस्था लागू गर्न गृह मन्त्रालयले भर्चुअल माध्यमबाट सम्बन्धित अधिकारीहरूलाई अनलाइन नागरिकता सिफारिस सम्बन्धी तालिम प्रदान गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, माघ २८ गतेदेखि अनलाइन प्रविधिबाट नागरिकता सिफारिसको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ ।
यसले नागरिकता प्राप्त गर्न चाहने व्यक्तिहरूलाई सहजता र समयको बचत प्रदान गर्ने अपेक्षा गरिएको छ । नयाँ प्रणाली कार्यान्वयनसँगै, नागरिकता सिफारिस प्रक्रियामा पारदर्शिता र कुशलता बढ्ने विश्वास गरिएको छ ।





