नवलपरासी । शीतलहरका कारण बाटो चिप्लो हुँदा नवलपरासी पश्चिमस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रक अनियन्त्रित भई तीन सवारी साधनलाई ठक्कर दिएको छ । दाउन्ने सडकखण्डमा मंगलबार राति नारायणघाटबाट भैरहवातर्फ गइरहेको लु २ ख ५९८२ नम्बरको ट्रकले विपरीत दिशाबाट र सोही दिशामा गुडिरहेका तीन सवारी साधनलाई ठक्कर दिएको हो ।
ठक्करका कारण ट्रक, मिनी ट्रक, र कन्टेनरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराका अनुसार ठक्करपछि सवारी साधनलाई पन्छाएर सडक एकतर्फी खुलाइएको थियो । तर, शीतलहरका कारण सडक चिप्लो हुँदा जोखिम बढेकाले बुधबार बिहान ३ बजेदेखि पुनः यातायात सञ्चालनमा समस्या भएको थियो ।
सडक एकतर्फी खुला, जोखिम अझै कायम
मंगलबार राति सडक पूर्ण रूपमा अवरुद्ध भएपछि बुधबार बिहान सडक एकतर्फी खोलिएको थियो । तर, चिसो मौसमका कारण राजमार्गमा सवारी साधन चलाउन चुनौतीपूर्ण रहेको प्रहरीले जनाएको छ । दिउँसो पुनः सडक खुलाइएको भए पनि यात्रुहरूलाई सचेत रहन र सवारी साधन सावधानी पूर्वक चलाउन आग्रह गरिएको छ । शीतलहरको प्रभावका कारण दाउन्ने सडकखण्डमा यात्रुहरूलाई कठिनाइ भएको छ । स्थानीय प्रशासनले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आवश्यक कदम चालिरहेको जानकारी दिए ।




