नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहारलाई ६५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
बुधबार लेखापालको कार्यकक्षबाट घुस लिइरहेको अवस्थामा उनीहरूलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । आयोगका अनुसार विद्यालय भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस लिएको खुलासा भएको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ । आयोगले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने प्रतिबद्धता दोहोर्याउँदै यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने बताएको छ ।
घटनाले शिक्षा क्षेत्रभित्र व्याप्त भ्रष्टाचार प्रति गम्भीर चासो उत्पन्न गराएको छ । स्थानीयवासीले विद्यालय व्यवस्थापनमा पारदर्शिता र सुधारको माग गरेका छन् ।




