रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ जुडिबेला र वडा नं. ३ गैंडाटारका किसानले गरेको केराखेतीमा जङ्गली हात्तीले ठूलो क्षति पुर्याएको छ । करिब पाँच बिघाभन्दा बढी जमिनमा लगाइएको केराखेती हात्तीले नष्ट गरेको स्थानीयले बताएका छन् ।
गैंडाटारका लालबहादुर दोङले जुडिबेला वनटोलमा लगाएको केराखेती जङ्गली हात्तीको आक्रमणबाट ठूलो मात्रामा नष्ट भएको छ । दोङले परिश्रम गरेर लगाएको केराका बोटहरू भत्काउनुका साथै फल लागिसकेका केरा पनि खाइदिएको बताइएको छ ।
यस घटनाले किसानलाई ठूलो आर्थिक घाटा पुर्याएको छ । स्थानीयले वन कार्यालय र सरोकारवाला निकायलाई समस्या समाधानका लागि तुरुन्तै कदम चाल्न आग्रह गरेका छन् । हात्तीको उपद्रव रोक्न सुरक्षा उपाय र दीर्घकालीन समाधानको आवश्यकता महसुस गरिएको छ ।
वन विभाग र स्थानीय प्रशासनले हात्तीको गतिविधिमा निगरानी गर्दै किसानको क्षतिपूर्ति र राहतका लागि पहल गर्नुपर्ने माग किसानहरूले राखेका छन् ।




