वीरगंज । वीरगंज महानगरपालिकाले नदी किनार अतिक्रमण गरी बनाइएका संरचना तत्काल हटाउन आग्रह गर्दै चेतावनी जारी गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णद्वारा शुक्रवार जारी सूचनामा श्रीसिया, तिलावे र सिङ्गाहा नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।
साथै, नदीको केन्द्र भागबाट ३० मिटरभित्र कुनै पनि संरचना निर्माण नगर्न चेतावनी दिइएको छ । सूचनामा महानगरपालिकाको बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजतसम्बन्धी कार्यविधि २०७५ (दोस्रो संशोधन २०७८) अनुसार मात्रै संरचना निर्माण गर्न आग्रह गरिएको छ ।
महानगरले नदी किनारमा संरचना बनाउँदा नदीको बहाव रोकिएर वर्षायाममा डुबानको समस्या आउने हुँदा नदीको आधार क्षेत्रमा कुनै पनि संरचना नबनाउन अनुरोध गरेको छ । नदीको केन्द्र भागबाट ३० मिटर दायाँ-बायाँको क्षेत्र संरचनारहित राख्न र अवैध संरचनाहरू तत्काल हटाउन महानगरपालिकाले सख्त चेतावनी दिएको हो । निर्धारित समयभित्र संरचना नहटाए कानूनी कारबाही गरिने सूचनामा उल्लेख छ ।





