धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यले आइतबारदेखि सेवा सञ्चालनमा ल्याएको छ । नगर प्रमुख जितनारायण यादवका अनुसार, यो सेवा घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न र अस्पतालमा सुरक्षित सुत्केरी गराउनका लागि सुरु गरिएको हो । यसले गर्भवती महिलासम्म पुगेर स्वास्थ्य र परामर्श दिन पनि सहज बनाउने उद्देश्य रहेको उनले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणजित यादवले नगरका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको बताए । साथै, गर्भवती र सुत्केरीलाई निःशुल्क सेवा दिने भनेका उनले अन्य बिरामीलाई न्यून शुल्कमा सेवा उपलब्ध गराइने जानकारी पनि दिएका छन् ।
यद्यपि, यो सेवा नगरपालिकाभित्रका नागरिक मात्र होइन, छिमेकी पालिकाका बिरामीलाई पनि उपलब्ध हुनेछ । नगरपालिकाले स्वास्थ्य संस्थासम्म ल्याउनको लागि यस एम्बुलेन्स सेवा प्रयोग गर्न सजिलो हुने विश्वास लिएको छ ।




