पर्सा । छोरीज्वाइँको घर जाने क्रममा पर्सा जिल्लामा एक जना वृद्धको बाटोमै मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा, जीराभवानी गाउँपालिका ३ जीतपुर परसवा निवासी ६५ वर्षीय जोगी महतो धानुक रहेका छन् ।
प्रहरीका अनुसार, जोगी महतो बिहान १० बजे घरमा खाना खाएर वीरगंज २८ बगहीस्थित छोरी उषा देवी र ज्वाइँ श्रीराम मण्डलको घरतर्फ जाँदै थिए । तर, बिहान करिब ११:३० बजे वीरगंज ३०, लालपर्सा गाउँको चोकभन्दा करिब ५०० मिटर पश्चिमतर्फ बगही जाने बाटोमा उनी ढलेका थिए ।
प्रहरी चौकी परवानीपुरका वरिष्ठ प्रहरी नायब निरीक्षक मेघजन लामाले बाटोमा एक वृद्ध लडेको सूचना प्राप्त भएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्साबाट टोली परिचालन गरिएको जानकारी दिए ।
लामाका अनुसार, वृद्धको मृत्यु चिसोका कारण भएको हो वा कुनै स्वास्थ्य सम्बन्धी समस्या रहेको थियो भन्ने अझै खुल्न बाँकी छ । घटनाको सर्जमिन मुचुल्का तयार गरी शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको र शव परीक्षणपछि मृत्युको कारण थाहा हुने जानकारी दिएको छ ।




