रौतहट । चन्द्रपुर नगरपालिकाले माघे संक्रान्ति (माघी पर्व) को अवसरमा माघ १ र २ गते दुई दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ । नगर कार्यपालिकाको कार्यालय र नगर उपप्रमुख जयमाला चौधरीको तर्फबाट जारी सूचनामा, माघ १ र २ गते चन्द्रपुर नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू र मातहतका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक विदा रहने उल्लेख गरिएको छ ।
चन्द्रपुर नगरपालिकाको जुडिवेला, सन्तपुर, मोथियाही, बसन्तपुर र राजपेडा क्षेत्रहरूमा थारु समुदायको बाक्लो उपस्थिति रहेको छ । थारु समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षको रूपमा मनाउँछन् ।
यस अवसरमा ठूला परिवारका थारु समुदायले एक ठाउँ सगोलमा बस्ने वा छुट्टिएर बस्ने निर्णय गर्ने प्रचलन रहेको छ । नगरपालिकाले समुदायको सांस्कृतिक महत्त्वलाई सम्मान गर्दै सार्वजनिक विदाको व्यवस्था गरेको जनाएको छ ।




