जनकपुरधाम । धनुषा प्रहरीविरुद्ध सोमबार जनकपुरधाममा युवाहरूले प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका युवाहरूले जनक चोकमा टायर बालेर विरोध जनाउँदै प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् ।
अनेरास्ववियु धनुषा जिल्ला अध्यक्ष पुरुषोत्तम चौधरीका अनुसार, घर भाडाको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय पुगेका युवाहरू र अर्को पक्षबीच विवाद हुँदा राष्ट्रिय युवा संघका प्रदेश अध्यक्ष लभ अधिकारीमाथि एक हवलदारले दुर्व्यवहार गरेका थिए ।
हवलदारले अधिकारीको कलर समातेर हातपात गरेको आरोप लगाइएको छ । चौधरीले हवलदारको व्यवहारको जानकारी गराउन इन्स्पेक्टर एसके यादवसमक्ष जाँदा उल्टै थप दुर्व्यवहार गरिएको दाबी गरेका छन् ।
प्रदर्शनका क्रममा जनक चोकमा टायर बालिएको आगो प्रहरीहरूले निभाएका छन् । आक्रोशित युवाहरूले सडक अवरुद्ध बनाउँदै बीचमा बसेर विरोध जनाएका छन् । प्रदर्शनपछि जनक चोकमा प्रहरी र सुरक्षा बलको बाक्लो उपस्थिति रहेको छ ।
यस विषयमा इन्स्पेक्टर यादवले प्रतिक्रिया दिँदै विवाद समाधान गर्न सम्झाउने प्रयासमात्र गरिएको र युवाहरूले लगाएका आरोपमा कुनै सत्यता नरहेको बताएका छन् ।




