काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादवले नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
अनुसन्धानका क्रममा यादवले भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (CBSE) अन्तर्गत महाराजा अग्रसेन पब्लिक स्कूल, अशोक विहार, नयाँ दिल्लीबाट जारी भएको झुट्टा तथा नक्कली प्रवीणता प्रमाण पत्र पेस गरेको पाइएको छ ।
उक्त प्रमाण पत्रको आधारमा उनले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजहरूमा मुख्य सहायक (कम्प्युटर) पदमा अस्थायी र स्थायी नियुक्ति लिई सेवा तथा सुविधा उपभोग गरेको पुष्टि भएको छ ।
यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा पर्दछ । सोही ऐनअनुसार कैद र जरिवाना सजाय हुनुपर्ने मागदाबीसहित आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।
नक्कली प्रमाण पत्र प्रयोग सम्बन्धी घटनाले शिक्षा क्षेत्रमा नैतिकता र योग्यता सुनिश्चित गर्न थप कडाइको आवश्यकता रहेको कुरा पुन: उठान गरेको छ ।




