नवलपरासी पूर्व । नवलपरासी पूर्वमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका ३ सभापतिचोकस्थित सडकमा दिल्लीबाट काठमाडौं जाँदै गरेको लु २ ख ६८३३ नम्बरको बसले ठक्कर दिँदा ७० वर्षीय मान बहादुर सुनारको ज्यान गएको हो ।
शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका सुनारलाई जीवनसिटी अस्पताल हुँदै नयाँ मेडिकल कलेज, भरतपुर चितवनमा पुर्याइएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भयो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, गैंडाकोट नगरपालिका ५ चाँदनी चोकस्थित सडकमा बा १५ च ९१४ नम्बरको स्कार्पियोले ना ३२ प ४३८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कार्पियोमा सवार मध्यबिन्दु नगरपालिका १२ नवलपुरकी २१ वर्षीया प्रिति ग्रन्जा मगरको ज्यान गएको छ ।
शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई नयाँ मेडिकल कलेज, भरतपुर हुँदै ग्राण्डी अस्पताल, काठमाडौंमा उपचारका लागि लगिएको थियो, तर शनिबार दिउँसो उनको मृत्यु भयो ।
दुर्घटनामा घाइते स्कुटर चालकको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । यस घटनामा संलग्न स्कार्पियो चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




