रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न मुद्दामा उनीहरुलाई ८ लाख ७८ हजार रुपैयाँ भन्दा बढी जिल्ला अदालत रौतहटले जरिवाना समेत गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दीपक कुमार रायले बताए ।
पक्राउ पर्नेहरुमा नागरिकता मुद्दामा नन्दलाल सिन्हा, जयमंगल यादव, देवकी लाल यादव, विरेन्द्र यादव, तेज नारायण यादव, कुटपिट अङ्गभङ्ग मुद्दामा सरिता देवी, प्रभा देवी, लड़ाई यादव, रामाप्रवेश ठाकुर, ठगी मुद्दामा शेख चाँद अलि, कुटपिट मुद्दामा शेख रोस्तम, शहनाज खातुन, जौबुन खातुन, शेख ईस्लाम र किशोरी ठाकुर रहेको प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले यस आर्थिक वर्षभित्र झण्डै तीन सय जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।




