पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा दुई समूहबीच झडप भएको छ । स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र छोटकी कुस्माका केही व्यक्तिबीच विवाद हुँदा स्थिति तनावपूर्ण बनेको हो ।
प्रहरीका अनुसार, हिजो केटा पक्षका एक जनालाई केटी पक्षका समूहले कुटपिट गरेपछि केटा पक्षका व्यक्तिहरू सोधपुछ गर्न केटी पक्षको घर पुगेका थिए । सोही क्रममा विवाद बढ्दै गएपछि आगजनीको प्रयास भएपछि झडप भएको बताइएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गर्नुका साथै ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए । झडपकै क्रममा प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय महेशपुरको एउटा गाडीमा समेत आगजनी गरेका छन् ।
घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २० जना घाइते भएका छन् । घाइतेमध्ये केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक रहेको छ भने ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको हाल भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार, हाल स्थिति नियन्त्रणमा आइसकेको छ । साथै, घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।




