‘अस्मितालाई कत्रो ठूलो बज्रपात पर्यो ?’ उसको श्रीमानको मृत्यु प्रति साइली दिदीले सहानुभूति बाढ्दै भनिन् । अस्मिता केवल रोइ मात्र रही । केही बोलिन । सुझाव दिँदै उनले पुन: थपिन्, ‘यस्तो त आफू खाने शत्रुलाई पनि नपरोस् । तीन तीन जना छोराछोरी कसरी पाल्छे ? बरु नानी, तँ जागिर गर । पढे लेखेको के काम ?’
गाउँपालिकामा कर्मचारी आवश्यकता परेको सूचना उसले थाहा पाई । साहिली दिदीको सुझाव शिरोधार्य गर्दै उसले जागिरको लागि आवश्यक कागजपत्रसहित निवेदन हाली । उसको नागरिकतामा श्रीमानको थर लम्साल थियो तर उसको प्रमाणपत्रहरूमा माइतीको थर पौडेल थियो । यसै विषयमा कर्मचारी र ऊ बीचमा ठूलै विवाद पर्यो । अस्मिताले विवाह दर्ताको प्रमाणपत्र पेश गरी र कर्मचारीको मुखमा बुझो लगाई ।
लिखित र मौखिक परीक्षामा राम्रो अङ्क ल्याएर पास गरी । अन्तरवार्ता राम्रो भयो । ऊ ढुक्क भई तर नतिजा आउँदा उसको नाम फेला परेन । ऊ आक्रोशित भई । गाउँपालिका पुगेर हाकिमसँग ठाडै प्रश्न गरी, ‘मेरोभन्दा कम अङ्क आएको मानिसलाई किन नियुक्ति गरियो ? आखिर किन ?’
हाकिमले सहजै भने, ‘उहाँ त ठूलै नेताको भानिज पर्नु हुँदो रहेछ ।’






