काठमाडौं । विशेष अदालत, काठमाडौंमा दर्ता भएको एक भ्रष्टाचारसम्बन्धी मुद्दामा सरकारी साक्षीहरूले झुटो बयान दिएर भ्रष्टाचारमा साथ दिएको पुष्टि भएपछि उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको छ ।
नेपाल सरकार वादी रहेको र ओम प्रकाश गुप्ता (उर्फ ओम प्रकाश तेली) प्रतिवादी रहेको मुद्दा नं. ०८१–CR–००१६ मा विशेष अदालतमा विचाराधीन रहँदा पाँच जना सरकारी साक्षीहरूले अनुसन्धान अधिकृत समक्ष दिएको बयान विपरीत अदालत समक्ष श्रव्यदृश्य प्रणाली (भिडियो कन्फरेन्स) मार्फत बकपत्र दिएका थिए ।
जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका ५ निवासी राम किशुन कुर्मी, अनन्त बढै, चन्द्रीका चमार, लोरिक अहिर र श्रीभदै केवटले अदालतमा दिएको बकपत्रले उनीहरूले अनुसन्धानका क्रममा दिएको विवरणको प्रतिकूल भएको देखिएको हो ।
अनुसन्धानका क्रममा भारतीय नागरिक अनुप मेहरालाई नेपाली नागरिक प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री हो भनी बदनियतपूर्वक तयार पारिएको सर्जमिन मुचुल्कामा सहीछाप गरिदिएको पाइएको छ ।
उनीहरूको यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा मतियारको भूमिका देखिएको भन्दै आयोगले सोही ऐनको दफा २२ अनुसार मुख्य कसुरदारलाई हुने सजाय सरहको सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा सो जानकारी सार्वजनिक गरिएको हो ।




