काठमाडौं । पूर्वी नवलपरासीस्थित चोरमारामा रहेको गिरिबारी पुल भासिँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । पुल भासिएपछि दुवै दिशाबाट सवारी आवागमन रोकिएको छ, जसका कारण यात्रु र मालवाहक गाडीहरू बीच बाटोमै रोकिएका छन् ।
एक १८ चक्के भारी ट्रक पुल पार गर्ने क्रममा पुल भासिएको हो । पुलमा सामान्य लचक देखिएको र अवस्थाको स्थलगत अनुगमन भइरहेको जनाइएको छ । सडक डिभिजनलाई जानकारी दिइसकिएको छ र समस्या समाधानका लागि प्रयास भइरहेको छ ।
यसअघि पनि पूर्वी नवलपरासीकै विनयी खोलाको पुल २०८१ सालको पुस महिनामा भाँचिएको थियो । त्यतिबेला पनि ओभरलोड गाडी नै मुख्य कारण रहेको जनाइएको थियो ।
स्थानीय व्यवसायीले पटक पटक ओभरलोड गाडीको नियमन र नियन्त्रणको माग गरेपनि सम्बन्धित निकायबाट यथोचित कार्यान्वयन नभएको गुनासो गर्दै आएका छन् । यो घटनाले फेरि पनि भौतिक पूर्वाधारको जोखिम र भारी सवारी साधनको नियन्त्रण प्रति राज्यको कमजोरी उजागर गरेको छ ।




