बर्दिया । कुनै समय बर्दिया जिल्लालाई ‘पन्टुन पुलको जिल्ला’ भनेर चिनिन्थ्यो । २०५६ सालदेखि २०७० सालसम्मको १४ वर्षसम्म बर्दियाको राजापुर क्षेत्रलाई वारपार गराउन गेरुवा नदीमा राखिएको पन्टुन पुल हाल ११ वर्षदेखि अलपत्र अवस्थामा छ ।
२०७० सालमा गेरुवा (कर्णाली) नदीको कोठियाघाटमा पक्की पुल सञ्चालनमा आएपछि पानीमा तैरिने यो अस्थायी पुल प्रयोगबिहीन बन्दै गएको हो । कार्तिकदेखि जेठसम्म साना–ठूला यात्रुबाहक र मालबाहक सवारीसाधन सञ्चालन हुने यो पुल २० टन भार वहन क्षमतायुक्त थियो ।
वर्षायाममा बाढीको जोखिम हुँदा स्टिम्बरको सहायताले जोखिम मोलेर यात्रा गर्न राजापुरबासी बाध्य हुन्थे । तर अन्य समयमा भने पन्टुन पुलकै कारण गेरुवा नदी पार गर्न राजापुरबासीलाई सहज हुन्थ्यो । ‘खाद्यान्नको भण्डार’ भनेर चिनिने राजापुर क्षेत्रबाट खाद्यान्न बाहिर लैजान पन्टुन पुलले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
एक समय राजापुरको ‘बरदान’ बनेको यो पुल आज भने जिर्ण बन्दै गएको दृश्य देखेर स्थानीयवासी दु:खी छन् । राजापुर नगरपालिका ६ का चन्द्रश्वर सुवेदीका अनुसार, राज्यको निरन्तर वेवास्ताले पुल अहिले पूर्णरूपमा उपेक्षित र क्षयी अवस्थामा पुगेको छ ।
मानपुरकी स्थानीय शिवा थारू भन्छिन्, “देशमा कतिपय ठाउँमा पुलको अत्यावश्यकता छ, जहाँ पुल नहुनाले सर्वसाधारणलाई दैनिक दु:ख भोग्नु परेको छ । त्यस्ता ठाउँमा यो अलपत्र परेको पन्टुन पुल लगेर सदुपयोग गर्नुपर्छ ।”
एसियाली विकास बैंकको ६ करोड ९३ लाख १८ हजार रुपैयाँ ऋण सहयोगमा चिनियाँ प्रविधिमा निर्मित उक्त पन्टुन पुलमा प्रारम्भमा ३३ वटा ड्रम थिए । हाल बाढीमा तीनवटा ड्रम बगिसकेका छन्, बाँकी ३० वटा ड्रम नदी किनारमा थन्क्याइएका छन् ।
शुरुमा राजापुर सिंचाई आयोजना, स्थानीय जल उपभोक्ता समिति र जिल्ला विकास समितिको संयुक्त प्रयासमा सञ्चालनमा आएको यो पुल पछि जिल्ला विकास समितिले ठेक्का लगाएर आम्दानीसमेत गरिरहेको थियो ।
सुरुआतमा पुलको नियमित मर्मत संहार, पेन्टिङ्ग लगायतका कार्य हुन्थे । तर पुल प्रयोग बाहिर गएपछि त्यसतर्फ कुनै जिम्मेवार निकायले चासो दिएको देखिंदैन । पुलको रेखदेखका लागि हाल राजापुर सिंचाई आयोजनाले दुईजना कर्मचारी खटाएको जनाएको छ ।
आयोजनाका प्रमुख रामकृष्ण घोडासैनीका अनुसार, पुल अब आफैंमा ‘टाउको दुखाइ’ बनिसकेको छ । पुल व्यवस्थापन वा लिलामी प्रक्रियाका लागि सम्बन्धित विभागमा पटक–पटक पत्राचार गरे पनि कुनै सुनुवाइ नभएको उनले बताए ।
“बजेट अभावका कारण आवश्यक नभए पनि कर्मचारी खटाउनु परेको छ,” घोडासैनी भन्छन्, “तर पुलको मर्मत संहार र पेन्टिङ्गका लागि कुनै निकाय जिम्मेवार बन्न चाहेको छैन ।” हाल उक्त पुल कोठियाघाटको नदी किनारमा खुला अवस्थामा राखिएको छ ।
खियाले ड्रमहरूमा प्वाल परेका छन्, जसले यो सम्पत्तिको अवस्था झनै बिग्रिँदो बनाउँदैछ । पन्टुन पुल जोगाउने कि सदुपयोग गर्ने भन्ने विषयमा राज्यको तत्काल ध्यान र निर्णय आवश्यक देखिन्छ । नत्र भने यो ऐतिहासिक र उपयोगी संरचना समयसँगै बिलिन हुँदै जानेछ ।




