काठमाडौं । बाँके जिल्लाको साविक नरैनापुर गाउँ विकास समितिमा सामाजिक सुरक्षा भत्ता वितरणमा ठुलो घोटाला भएको खुलेको छ । २०५७/०५८ देखि २०७२/०७३ आ.व. सम्मको समयावधिमा आर्थिक अनियमितता गरी १९ जना अपात्र व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पुष्टि भएको छ ।
सामाजिक सुरक्षा भत्तासम्बन्धी उजुरीका आधारमा अनुसन्धान गर्दा गा.वि.स. सचिव र तत्कालीन अध्यक्षको मिलेमतोमा नियम विपरीत अपात्रहरूलाई भत्ता वितरण गरिएको देखिएको छ ।
भत्ता वितरणमा नागरिकताको जन्ममिति नहेरी उमेर नपुगेका व्यक्तिलाई जेष्ठ नागरिक तथा दलित जेष्ठ नागरिकका रूपमा, नागरिकता नभएका महिलालाई एकल महिला, र भारतमा विवाह गरी गएकी महिलालाई समेत एकल महिला घोषणा गरी सामाजिक सुरक्षा लाभग्राही बनाइएको थियो ।
यस प्रक्रियाबाट रु. ६,५६,७०० हिनामिना भएको विशेष अदालत, काठमाडौंमा दायर आरोपपत्रमा उल्लेख गरिएको छ । विशेष अदालतमा आज आरोपपत्र दायर गरिएको जानकारी दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले दोषीहरूमाथि कानुनी कारबाही माग गरिएको जानकारी दिए ।
प्राप्त विवरण अनुसार आरोपितमध्ये पाटेश्वरी सिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कुर्मीको मृत्यु भइसकेको छ । बाँकी बिगो वापतको रकम तत्कालीन सचिव सावित राम कुर्मीबाट असुलउपर गर्न मागदाबी गरिएको छ ।




