मुस्ताङ – एक नाम मात्र होइन, संवेदना हो । यो शब्द उच्चारण गर्नासाथ मनको कुनाकाप्चामा एउटा रहस्यमय मिठास घोलिन्छ, एक अदृश्य मोह जाग्छ ।

‘हिमालपारिको जिल्ला’ भनेर चिनिने यो भूगोल भित्र छ- माटो, आकाश र पर्वतको यस्तो अद्भुत समागम, जहाँ प्रकृतिको सौन्दर्यले जीवनलाई स्मरणीय बनाउँछ ।

जब मैले मुस्ताङको यात्रा थालेँ, प्रत्येक पाइला नयाँ अनुभूतिको द्वार थियो । कागबेनीबाट सुरु भएको त्यो पदयात्रा मरुभूमिको आकृतिमा रमाउँदै, आत्मासम्म पुग्ने यात्रा बन्यो ।

हरियालीभन्दा टाढा, नील आकाशमुनि तन्किएका चिटिक्क पहाडहरू, तिनको सन्नाटा अनि तिनै मौनताभित्रको संवाद सबैले मलाई मौन भित्रको चिच्याइरहेका विचारहरूसम्म पुर्यायो ।

मुस्ताङको भूमि चिर परिचित र अपरिचितको संगमजस्तै लाग्थ्यो- जहाँ मैले आफैंलाई पनि नयाँ रूपमा भेट्न थालेँ । म त्यहाँ शारीरिक रूपमा मात्र पुगेको थिइनँ, म त भावनाहरू, अनुभूतिहरू र चेतनाको नयाँ आयाम खोज्न गएको थिएँ ।

यहाँका दृश्यहरू वर्णनका शब्दहरू भन्दा पर थिए- म मौन भएर महसुस गर्दै थिएँ, हावामा मिसिएको शान्ति, धरातलमा पोखिएको रंगीनता र आकाशमा फैलिएको व्यापकता ।

देउरालीको उचाइमा पुग्दा बताससँगको संवाद विशेष लाग्यो । त्यो बतास बोल्थ्यो- संवेदनाका भाषा । त्यो बताससँग म हाँसें, भिजें र बिस्तारै आफूभित्रैको मसँग पनि भेटें । त्यहाँको क्षणिक मौनताले समयलाई स्थिर बनाइदियो र मलाई जीवनको वास्तविक गन्तव्य बारे सोच्न बाध्य गरायो ।

मुस्ताङको यात्रा दृश्यहरूको यात्रा मात्रै थिएन, यो मेरो अन्तर्यात्रा पनि थियो । प्रत्येक मोडमा म नयाँ अनुभूतिसँग साक्षात्कार गरें, जुन अनुभवहरू अक्षरमा अनुवाद गर्न गाह्रो पथ थियो । जीवनका यस्ता यात्रा जुन कुनै ठेगानामा टुंगिँदैनन्, तर प्रत्येक क्षणमा नँया अर्थ दिन्छन्- मुस्ताङले मलाई यस्तै यात्रा दिएर फर्कायो ।

स्मृतिमा झुल्किरहेका ती आकृतिहरू, ती मौन पहाडहरू र ती रंगहरू- यी सबै जीवनका पानाहरूमा बाँचिरहने छन् । मुस्ताङलाई हेर्दा लाग्छ, प्रकृतिले आत्मा लेख्ने प्रयत्न गरेजस्तो छ- हरेक चट्टान, हरेक कुना, हरेक रंग त्यस आत्माको अक्षरजस्तो छ । र म, ती अक्षरहरू पढ्दै, जीवनको सन्देश समेट्दै अगाडि बढिरहेकी छु ।

मुस्ताङको यात्राबाट फर्किएर महसुस भयो- साँचो यात्रा भनेको बाहिरी गन्तव्यमा पुग्नु होइन, आफूभित्रको अस्तित्वसँग साक्षात्कार गर्नु हो । हरेक पहाड चढ्नुको अर्थ केवल उचाइ जित्नु होइन, त्यो यात्रामा भेटिएको मौनता, आत्मीयता र अनुभूतिले हामीलाई अझ पूर्ण बनाइदिन्छ ।

अन्तत:, मुस्ताङ मेरो लागि गन्तव्य होइन- उनी त एउटा प्रेरणा थिइन्, जस्को भित्ताभित्र म आफ्नो जीवन बारे बुझ्न थालेँ । र अहिले पनि जारी छ- हरेक यात्रामा, हरेक दृश्यमा, हरेक मौनतामा ।








