रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका ३ का वडाध्यक्ष जनार्दन यादव ३ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । उनले योजना सम्पन्न भइसकेपछि भुक्तानी सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग मोलमोलाई गर्दै घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले वडाध्यक्ष यादव र घुस रकम लिने व्यक्ति सिद्धार्थनगर नगरपालिका ९ स्थित श्री गणेश ट्रेडिङ्गका सञ्चालक विपिन कुमार पाण्डेयलाई ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
योजनाको भुक्तानी सिफारिसका लागि मागिएको घुस
वडाध्यक्ष यादवले वडा नं ३ मा सञ्चालन भएका विभिन्न योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानी सिफारिस गर्ने शर्तमा सेवाग्राहीसँग घुस माग गरेका थिए । अख्तियारका अनुसार उनले उक्त रकम विपिन कुमार पाण्डेयमार्फत लिन खोजिरहेका थिए । सोही क्रममा उनीहरू दुवैलाई रंगेहात पक्राउ गरिएको हो ।
घटनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष यादव र पाण्डेय दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ । आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले दिएको जानकारी अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ ।




