काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (साउन ३, ४ र ५ गते) देशभर अत्यधिक वर्षा हुने र नदीहरूमा पानीको सतह सतर्कता बिन्दु पार गर्न सक्ने सम्भावना रहेको पूर्वानुमान गरेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले देशभरका सम्पूर्ण जलविद्युत आयोजनाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
इप्पानले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा मौसम विभागबाट प्राप्त बाढी पूर्वसूचनाको आधारमा आगामी दिनहरूमा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि निर्माणाधीन तथा सञ्चालनमा रहेका सबै जलविद्युत आयोजनालाई पूर्वतयारी अघि बढाउन अनुरोध गरेको हो ।
सिसिटिभी र गेज स्टेशनबाट बाढी सूचना प्राप्त
इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढी पूर्वसूचना आदान–प्रदानको सम्झौता अनुसार विभागले नियमित रूपमा सूचना प्रदान गर्दै आएको छ । विभागका अनुसार साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने सम्भावना छ, जसले गर्दा कोशी, तमोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई लगायतका नदीहरूमा बाढी आउने जोखिम अत्यधिक रहेको उल्लेख गरिएको छ ।
४ गते बेलुकादेखि बागमती नदीमा बाढी आउन सक्ने सम्भावना रहेकाले काठमाडौं उपत्यका र तल्लो तटीय क्षेत्रहरू प्रभावित हुनेछन् । यस्तै, ४ गते बेलुकादेखि ५ गते मध्यान्हसम्म महाकाली नदी र त्यसको तटीय क्षेत्रमा पनि उच्च सतर्कता आवश्यक रहेको विभागले जनाएको छ ।
बाढीका कारण विगतमा भएको क्षतिको स्मरण
इप्पानले गत असार २४ गते भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका आधा दर्जनभन्दा बढी जलविद्युत आयोजनामा पुर्याएको क्षति स्मरण गराउँदै यस्ता घटना दोहोरिन नदिन अग्रिम तयारी गर्नुपर्ने आवश्यकता औंल्याएको छ । साथै विगतमा बाढी र पहिरोका कारण कर्मचारीहरूले ज्यान गुमाउनुका साथै आयोजनाहरू लामो समयसम्म बन्द हुनु परेको प्रसङ्गसमेत उठाइएको छ ।
मानवीय क्षति रोक्न प्राथमिकता दिन इप्पानको आग्रह
विपद्को अवस्थामा सबैभन्दा पहिले मानवीय क्षति हुन नदिनुपर्ने कुरामा जोड दिँदै इप्पानले सबै जलविद्युत प्रबर्द्धकहरूलाई तल्लो तटीय क्षेत्रमा समयमै सूचना दिने प्रणाली विकास गर्न आग्रह गरेको छ ।
विशेष गरी नदी करिडोरका माथिल्लो भागमा रहेका आयोजनाहरूले बाढी देखेपछि तल्लो तटीय आयोजनाहरुलाई तत्काल जानकारी दिनु पर्ने भनिएको छ । यदि बाढीको जोखिम भएको अवस्थामा आयोजना सञ्चालनमा छन् भने विद्युत प्राधिकरणसँग समन्वय गरी गेट बन्द गर्ने तथा कर्मचारीलाई सुरक्षित स्थानमा जान सल्लाह दिने व्यवस्था गर्नुपर्ने इप्पानको सुझाव छ ।
स्थानीय समन्वय र रिपोर्टिङ पनि जरुरी
मौसम विभागका गेज स्टेशनमा बसेका कर्मचारीहरूले सबैभन्दा पहिले बाढीको जानकारी पाउने भएकाले जलविद्युत आयोजनाका जिम्मेवार व्यक्ति र स्थानीय बासिन्दाबीच समन्वय र सूचना आदान–प्रदान गर्नुपर्नेमा पनि इप्पानले जोड दिएको छ ।
यदि पूर्वतयारीका बाबजुद पनि कतै मानवीय वा भौतिक क्षति हुन गइहाल्यो भने त्यसबारे तुरुन्त इप्पानमा जानकारी गराउन पनि अनुरोध गरिएको छ । इप्पानले देशभरका सबै जलविद्युत कम्पनीहरूलाई आफ्ना कर्मचारी, उपकरण, संरचना र स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न सतर्कता अपनाउन आह्वान गरेको छ ।




