बुटवल । सरकारी छापको दुरुपयोग गरी नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार दिउँसो पक्राउ परेका अरू एक जना कार्यालय सहयोगी सञ्जय कुमार केवट हुन् । उनीहरूलाई पुरानो कित्ता प्रकरणसँग जोडिएको सरकारी स्वामित्वको जग्गामा अनियमितता भएको आशंकामा नियन्त्रणमा लिइएको हो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा कार्यालयका सूचना अधिकारी गणेश सापकोटाका अनुसार प्रारम्भिक अनुसन्धानमा सरकारी छाप दुरुपयोग गरी नक्कली लालपुर्जा तयार पारिएको पुष्टि भएको छ ।
“ठूलो रकम लिएर सरकारी जग्गाको नक्कली लालपुर्जा जारी गरिएको देखिएको छ,” उनले बताए, “यस घटनामा संलग्न अन्य केही कर्मचारी अझै फरार छन् ।” प्रहरीले फरार अभियुक्तहरूको खोजी तीव्र पारेको जनाएको छ । साथै, घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।




