सप्तरी । सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ३ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गएराति स ८ प ५९१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ३० वर्षीय शत्रुधन सदाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका सदाको छिन्नमस्ता अस्पताल, राजबिराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अर्का एक साइकलयात्रीको छिन्नमस्ता अस्पतालमै उपचार भइरहेको छ ।
यस्तै, मोटरसाइकल चालक र मोटरसाइकलमा सवार एक जना यात्रुको गजेन्द्र नारायण सिंह अस्पताल, राजबिराजमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




