काठमाडौं । महोत्तरी र सप्तरीमा शनिबार राति भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका ४ स्थित सडकमा बीआर ०६ बिके ४७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महोत्तरी गाउँपालिका ६ बस्ने ५० वर्षीया मोमिना खातुनको शनिबार राति मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुली बजारस्थित सडकमा जण्डोलबाट कञ्चनपुरतर्फ जाँदै गरेको बा ३२ प ३६०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कञ्चनरूप नगरपालिका ११ गिदहा बस्ने ३२ वर्षीया शसिकला चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।




