“सबैले आ-आफ्नो कामको जिम्मा लिनुहोस् है ।” मन्दिर अध्यक्षले हतारो देखाउँदै भन्नुभयो । आज श्री कृष्ण जन्माष्टमीको दिन, राधाकृष्ण मन्दिरमा कार्यसमिति जम्मा भई पूजा व्यवस्थापनमा लागे ।
फूल र प्रसादको तयारीमा मीरा खटिएकी थिइन् । दर्शनार्थीको व्यवस्थापनमा गोकर्ण व्यस्त थिए । राधाकृष्णले स-साना बालबालिकालाई पौराणिक कथाको मान्यता अनुसार तयार पारेका थिए ।
सत्सङ्ग चलिरहेको थियो । गुरूले श्रीकृष्णका बारेमा भन्नुभयो, “वसुदेवका आठौँ सन्तान, भगवान् विष्णुको आठौँ अवतारको रूपमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ । द्वापर युगमा मथुरामा भाद्र कृष्ण अष्टमीको मध्यरातमा जन्मिएका कृष्ण ज्ञान, कर्म र भक्तिको प्रतीक मानिन्छन् ।”
बीचबाटै एक जनाले प्रश्न गर्यो, “के गरे त कृष्ण भगवान् ?”
गुरूले सुनाउनुभयो, “कृष्णले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता राक्षसहरूको संहार गरी अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिको नाश गरी मानव कल्याण गरेका थिए । कृष्णले कौरव र पाण्डवबीच कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रही पाण्डवको पक्षमा अर्जुनको सारथी बनेर हौसला प्रदान गरेका थिए ।” गुरूले सरल भाषामा बुझाउनु भयो ।
फेरी अर्कोले जिज्ञासा राख्यो, “कृष्णलाई किन नन्दलाल भनिएको हो, गुरु ?”
गुरूले मन्द मुस्कान दिदैँ भन्नुभयो, “वसुदेवको आठौँ सन्तानलाई मृत्यु हुने भविष्यवाणीले डराएका कंसले उनलाई मार्ने अनेक प्रयास गरेका थिए । तर वसुदेवले जन्मिँदै गर्दा कृष्णलाई गोकुलवासी नन्दको घरमा लगेका थिए । नन्दको संरक्षणमा हुर्किएका कारण उनलाई नन्दलाल भनिएको हो ।”
पहिलोले उत्सुकतापूर्वक सोध्यो, “किन गरिन्छ श्रीकृष्णको पूजा ?”
गुरू हर्षित स्वरमा भन्नुभयो, “धर्मग्रन्थ अनुसार व्यक्तिको चन्द्रमा कमजोर भएमा अधिक लाभ मिल्ने, प्रेम र दाम्पत्य सुख, सन्तान प्राप्ति, लामो आयु र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।”
मन्दिर सरसफाइ र शौचालय सफाइ गरी थकित भइ माला सत्सङ्ग सुन्न आएकी थिइन् । त्यति नै बेला दोस्रोले उनको कामको व्याख्या गरिदियो ।
गुरूले मालाको भावमुद्रालाई नियाल्दै भन्नुभयो, “भगवानले नदेखेको ठाउँ कहाँ छ र ? अरूले तुच्छ सम्झेर छोडेको ठाउँ झन् छिटो देख्नुहुन्छ भगवान ।” यसरी उनका मुहारमा ऊर्जा थपिदियो ।






