भैरहवा । ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम्प, होलोग्राम तथा स्टिकरसहित भारतीय नागरिक पक्राउ परेको प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता समेत संलग्न भएको खुलेको छ ।
गत शुक्रबार साँझ रुपन्देही प्रहरीले भारतका कानपुर निवासी २५ वर्षीय अभिषेक यादवको साथबाट ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम्प, होलोग्राम तथा स्टिकर बरामद गरेको थियो । यादवको बयानका आधारमा चितवनका रास्वपा नेता डा. हरि प्रसाद कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देही प्रहरी स्रोतका अनुसार उनलाई बुधबार चितवनबाट नियन्त्रणमा लिएर रुपन्देही ल्याइएको छ । कँडेल चितवनको कालिका नगरपालिका ५, पदमपुरका स्थायी बासिन्दा हुन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ ६:३० बजे रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेका बेला यादवलाई चेकजाँच गर्दा सो नक्कली प्रमाणपत्रहरू बरामद गरिएको हो ।
अनुसन्धानका क्रममा यादवले आफू डा. कँडेलको सहयोगीको हैसियतमा भारतमै नक्कली शैक्षिक प्रमाणपत्र र होलोग्राम स्टिकर छपाइ गरी ल्याउने गरेको बताएका थिए ।
यसै आधारमा प्रहरीले डा. कँडेललाई खोजी गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार क्षेत्रीले जानकारी दिए ।
उनले भने, “अहिलेसम्मको अध्ययनले डा. हरि कँडेललाई यो प्रकरणको मुख्य व्यक्ति देखाएको छ । उनले शैक्षिक परामर्श केन्द्रको नाममा नक्कली प्रमाणपत्रको कारोबार गर्दै आएको प्रमाण भेटिएको छ ।”
चितवनको एक सरकारी विद्यालयमा शिक्षक रहेका कँडेल प्रधानाध्यापक बन्न खोज्दा अयोग्य ठहरिएका थिए । त्यसपछि उनले शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए ।
तर, नक्कली प्रमाणपत्रमार्फत शिक्षक बनेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो क्रममा उनी निलम्बनमा परेका थिए ।
कालिका नगरपालिका ५ का वडाध्यक्ष दीपक भट्टराईका अनुसार, कँडेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि उनी शैक्षिक परामर्श केन्द्रमार्फत व्यवसाय गर्न थालेका थिए ।
हाल उनी चितवनको लायन्स चोकमा “कलेज कोच नेपाल प्रा.लि.” नामक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार सोही केन्द्रबाट उनले नक्कली शैक्षिक प्रमाणपत्र बिक्री वितरण गर्ने गर्थे । पक्राउ परेका कँडेल रास्वपाको बागमती प्रदेश कमिटीको प्रशिक्षण विभाग संयोजकसमेत रहेका छन् ।
रुपन्देही प्रहरीले बरामद गरेका सामग्रीमा त्रिभुवन विश्वविद्यालय, अमिटी युनिभर्सिटी (उत्तर प्रदेश), जवाहरलाल नेहरू टेक्नोलोजिकल युनिभर्सिटी (हैदराबाद), छत्रपति साहुजी महाराज युनिभर्सिटी (कानपुर), असम उच्च माध्यमिक शिक्षा परिषद, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र युनिभर्सिटी लगायतका संस्थाका प्रमाणपत्र, मार्कसिट, प्रोभिजनल सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेटसहित हजारौँ नक्कली कागजातहरू रहेका छन् ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, उच्च माध्यमिक शिक्षा परिषद लगायतका होलोग्राम, विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका स्टाम्प, स्टिकर र खाली लोगोहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।




