रौतहट । राजदेवी नगरपालिका कार्यालय अगाडिदेखि बाग्मती बाँधसम्म निर्माण भएको कालोपत्र सडक निर्माण भएको केवल ३६ दिनमै भत्किएको छ । गौर नगरपालिका ५ को महतो कन्स्ट्रक्शनले सङ्घीय शहरी तथा आयोजना कार्यालय, पर्साबाट विनियोजित रु ५६ लाखको बजेटमा सडक निर्माण गरेको थियो ।
असार मसान्तसम्म काम सक्ने सम्झौता अनुसार ठेकेदारले गुणस्तर कायम गर्दै काम गर्नुपर्ने थियो । तर, स्थानीय वासीका अनुसार ठेकेदारले गुणस्तरहीन ढङ्गले सडक निर्माण गरेपछि सडकको सतह एक महीनाभित्रै भत्किएको हो ।
निर्माण सम्झौता अनुसार दुवैतर्फ नाला र कालोपत्र निर्माण गर्नुपर्ने भएपनि ठेकेदारले सतही मात्र काम गरेको स्थानीयवासीले आरोप लगाएका छन् । भत्किएको सडकखण्डमा हाल बालुवा छरेर अस्थायी रूपमा ढाकछोप गर्ने प्रयास भइरहेको छ ।
स्थानीयवासीहरू भन्छन्, “असारे विकासको नाममा जथाभावी काम गर्दा रु ५६ लाखको सडक ३६ दिनमै भत्कियो । सरोकारवाला निकाय र ठेकेदार कम्पनीको गैर जिम्मेवारीपनले स्थानीय जनतामा आक्रोश बढाएको छ । छानबिन र कारबाही हुनुपर्छ ।” सरकारी निकायले पनि यस विषयमा समीक्षा र आवश्यक कदम चाल्ने तयारी थालेको बताएको छ ।




