रौतहट । रौतहटको वृन्दावन नगरपालिका ९ बाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले बुधबार साँझ प्रेस विज्ञप्ति मार्फत घटना बारे जानकारी दिएको हो ।
प्रहरीका अनुसार वृन्दावन ९ का शैलेन्द्र राउक कुर्मीको खेतमा राखिएको मधेश प्रदेश २०३–००१ त १९२४ नम्बरको ट्रयाक्टर साउन ८ गते राति करिब साढे १२ बजे चोरी भएको थियो । चोरी भएको ट्रयाक्टर दुई दिन पछि साउन १० गते सर्लाहीस्थित ईश्वरपुर नगरपालिका ११ मा सडक छेउको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानलाई अगाडि बढाउँदै जाँदा प्रहरीले करिब एक महिनापछि ट्रयाक्टर चोरीमा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका ३ का १९ वर्षीय विजेन्द्र दास र वडा ७ का २६ वर्षीय विनोद पण्डित रहेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले उनीहरूलाई चोरीमा संलग्न रहेको ठहर गरी थप अनुसन्धान भइरहेको बताएका छन् । स्थानीय स्तरमा हुने खेतीपाती तथा निर्माणमा प्रयोग हुने साधन एवम् सामाग्री नै चोरीमा पर्न थालेपछि किसान र सर्वसाधारण थप त्रसित भएका छन् ।
चोरी भएको ट्रयाक्टर दुई दिनमै फेला परेपनि, वास्तविक अपराधीलाई प्रहरीले पहिचान गर्न करिब एक महिना लाग्नु अनुसन्धानको चुनौतीपूर्ण प्रकृतिलाई देखाउँछ । ग्रामीण क्षेत्रमा रातको समयमा गस्ती अभाव, स्थानीय सुरक्षातर्फको लापरबाही र आपराधिक समूहहरूको सक्रियता पनि चोरीजस्ता घटनामा योगदान पुर्याउने कारकका रूपमा देखिन्छन् ।
यसरी कृषि व्यवसायमै प्रयोग हुने मेसिनरी चोरी हुनु भनेको स्थानीय किसानलाई प्रत्यक्ष आर्थिक नोक्सानी हुनु हो । घटना तत्काल नियन्त्रणमा ल्याइए पनि यसले भविष्यमा हुने सम्भावित चोरी रोक्न स्थानीय सुरक्षा व्यवस्थालाई बलियो बनाउनु पर्ने आवश्यकता औंल्याएको छ । प्रहरी प्रशासनले गस्ती बढाउनुका साथै, सर्वसाधारणले पनि सामुदायिक सतर्कता बढाउनु पर्ने आवश्यकता देखिन्छ ।




