रौतहट । रौतहटमा फेरि एक पटक बोक्सीको आरोपमा एक महिलामाथि अमानवीय व्यवहार गरिएको छ । गरुडा नगरपालिका ८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ वर्षीया श्रीमती सुशिला देवीलाई छिमेकीहरुले निर्घात कुटपिट गर्दै कपाल मुंडन गरी मानव मलमूत्र खुवाएको हृदयविदारक घटना सार्वजनिक भएको हो ।
स्थानीय ४० वर्षीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु साह कानु र ३५ वर्षीय विक्रम साह कानु लगायत मिलेर आइतबार सुशिला देवीमाथि बोक्सीको आरोप लगाउँदै सामुहिक कुटपिट गरेका हुन् । घटनाको सुरुवात बिहान भएको हो, जब दिनेश साह कानुकी श्रीमती ३७ वर्षीया संगिता देवी अकस्मात बिरामी परिन् ।
उनलाई उपचारका लागि गरुडास्थित रोमा अस्पताल पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा दिउँसो २ बजे बाटोमै मृत्यु भयो । संगिता देवीको मृत्युका लागि छिमेकी सुशिला देवीले टुनामुना गरेको आरोप लगाउँदै मृतकको परिवारजनले आक्रोश पोख्दै सुशिला देवीलाई कुटपिट मात्र होइन, कपाल काटेर मलमूत्र समेत खुवाएका हुन् ।
घटना बारे जानकारी पाउना साथ दिउँसो करिब ३ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय गरुडाका सई ज्ञानेन्द्र ढकालको कमाण्डमा पुगेको टोलीले पीडित महिलालाई उद्धार गरेको हो । तर, कुटपिटमा संलग्न तीनै जना भने घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाको पुष्टि गर्दै बोक्सीको आरोपमा कुटपिट गर्ने ७ जना माथी पीडितको तर्फबाट जाहेरी परेको छ ।
महिलालाई कुटपिट गरी टाउको मुण्डन गरेपछि मलमूत्र खुवाएको आरोप लागेको छ । कुटपिट गरेको टाउको मुण्डन गरेको त स्पष्ट छ, मलमूत्र ख्याएको हो कि होइन त्यस बारे अनुसन्धान भइरहेको डिएसपी कार्कीले न्युज कारखानालाई बताए ।
घटना लगतै पीडकहरु सबै जना घर छोडेर फरार भएकाले उनीहरूको खोजी तथा घटना बारे थप अनुसन्धान भइरहेको डिएस्पी कार्कीले जानकारी दिए ।




