अहङ्कारीहरू हो ! अझै चेत खुलेन ?
प्रिय जेन्जी ! जेलीनेस्की र लेण्डुपहरूदेखि होसियार !
अहङ्कारीहरू हो ! ७ सालबाट पनि चेत खुलेन ? १७ सालबाट पनि चेत खुलेन ? २७, ३६, ४६, ५२ बाट पनि चेत खुलेन ? ६२/६३, ७२ बाट नि चेत खुलेन ? ८२ बाट त खुल्यो कि भनेको अझै खुलेको रहेनछ । खुलेको भए हेर्दा हेर्देेै देशलाई किन खरानी बनायाै ? जनताको पटक पटकको बलिदानीमा टेकेर आफ्नै सेटलमेन्ट खडा गर्यो । सिद्धान्त पोलेर खायाै । दर्शन मेटायाै । चाकडी, चुक्ली, चुप्लुसीलाई क्षमता र योग्यता बनायाै ।
सहिद, वेपत्ता, घाइतेका सपनाहरूलाई चकनाचुर पार्यो । परचक्रीहरूलाई आफन्त ठान्याै, मान्याै । आफ्नै दाजुभाइ, दिदीबहिनीहरूबिच दुश्मनी बढायाै । आफ्नै पार्टीमा आगो लगायाै । छिद्र बनायाै । राष्ट्रिय मुद्दामा कहिल्यै एकजुट भएनाै । एकजुट हुने एजेन्डा नै ल्याएनाै । कहिले दायाँ ढल्कियाै कहिले बायाँ पल्कियाै । बरू लेन्डुप दोर्जे बन्नमा लिगलिगे दाैड दाैडिरह्याै । गण्डक बेच्याै, टनकपुर बेच्याै, महाकाली सुम्पियाै । एमसिसी गर्याै । राजा वीरेन्द्रको वंशनाश गर्ने, मदन- आश्रितको हत्या गर्ने हत्यारा, विभित्र जनहत्याका कान्डहरू गुपचुप पार्याै । कहिल्यै खोजेनाै ।
०४६ सालअघिका भ्रष्ट,दोषीहरूमाथि खोजबिन, कारबाहीको सट्टा आफूले नै भ्रष्टाचारमा माथ गर्याै उनीहरूलाई । कहिल्यै जनसेवक बन्ने सोच आएन । शासक बनेर सोझासीधा जनतामाथि शासन लादिरहयाै । जनजीविका, रोजगार वृद्धिका मुद्दामा कहिल्यै सामूहिक छलफल बहस गरेनाै । परम्परागत कानुनहरू संशोधन, खारेजी, नयाँ कानुन निर्माणमा द्रूतता दिन सकेनाै । सङ्घीयता र पालिकाहरूका नाममा उल्टै जनतामाथि करको बोझ थप्याै । पटक पटकको जनविश्वासमाथि घात गरिरह्याै । नयाँ पुस्ताको शक्तिलाई कम आक्याै । देश त जलि नै सक्याे । युग पछाडि धकेलिइ नै सक्याे । तैपनि अहङ्कारीहरू हो, अझै चेत खुल्यो कि खुलेन ? खुलेको भए अझै पनि किन सामाजिक सञ्जालमा छेडखानी ?
त्यत्रो त्याग, लगानी, समर्पण धूलीसात भयो एकछिनमै । त्यत्राे जनशक्ति के को लागि ? जनवर्गीय सङ्गठन कसका लागि ? पेसागत सङ्गठन के का लागि ? राष्ट्रमाथि प्रत्यक्ष हस्तक्षेप देखिइसक्यो । अझै माैन ? डिजिटल झगडा ? हाकिम-कारिन्दा ? राष्ट्रको अस्तित्व संरक्षणका लागि सबै एकमुख हुनुपर्ने होइन ? यही माहाैलमा राजा फर्काउन पाए हुन्थ्यो भन्ने मित्रहरू, यो राष्ट्र हामी सबैको होइन ? राष्ट्र नै नभए राजा रहने कसरी, कहाँ ?
राजाका पक्षधर भनिनेहरू पनि, राष्ट्रिय एकताका लागि अरू दलसित मिलेर एकै ठउँमा जुट्नुपर्ने होइन ? राज्यको संरक्षण गर्न एकमत हुनुपर्ने होइन ? अनि नि जेन्जी ! यो देशलाई निराशाको दलदलमा फसाएको राजा, नेता, मन्त्रीले मात्रै हैन, एक नम्बरमा यिनले हो भने क्रमश: अरु अरू नम्बरमा विभित्र क्षेत्रमा नेतृत्व लिएकाहरूले हो ।
नेपाल आमाको नाम बेचेर राष्ट्रघात गर्ने, विदेशीप्रति वफादार पत्रकार, वकिल, न्यायाधीश, भ्रष्ट कर्मचारी, मानवअधिकारकर्मी, उद्योगी, व्यापारी, धर्मभीरू, माता, स्वामी, यस्तै यस्तैले हो । त्यसैले प्यारा प्यारा जेन्जी भाइबहिनीहरू ! कुनै पनि जेलीनेस्की, लेण्डुपहरूलाई सत्ताको प्रमुख बागडोरमा नपुर्याउनुहोला । आन्तरिक भ्रष्ट, अपराधीहरूलाई विस्तारै कारबाही गर्दै जाउँला । तर जेलीनेस्कीहरूको हातमा सत्ताको चावी पुग्यो भने हामीले भ्रष्ट शासक हैन, राष्ट्र नै गुमाउँछाैँ । युक्रेन बन्छाैँ हामी । बुमर्स, एक्स, वाई फेरि सडकमा आउनुपर्ने हुन्छ । होशियार ! होशियार !






