रौतहट । जेनजी आन्दोलनले देशभर अराजक परिस्थिति सिर्जना गर्दा राजधानी सिंहदरबारदेखि जिल्ला–जिल्लाका सरकारी धरोहरहरू जलेर खरानी भए । रौतहटमा मात्र दर्जनौँ सरकारी कार्यालय जलाइए, प्रहरी कार्यालयमाथि आक्रमण भयो र सदरमुकाम गौर कारागारबाट सयौँ कैदी फरार भए ।
तर यही अराजकताबीच एउटा प्रहरी कार्यालय भने नेपाल प्रहरीका इन्स्पेक्टर सुरेन्द्र यादवको साहस र रणनीतिको कारण सुरक्षित रह्यो । यादव बिजयपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत छन् । उनको सुझ बुझ, आन्दोलनकारीसँग संवाद गर्ने क्षमता र अन्तिम क्षणसम्म पनि नहारेको दृढताले बिजयपुर प्रहरी कार्यालयलाई जोगाउन सम्भव बनायो ।
गत २४ भदौ बिहानैदेखि करिब दुई सय आन्दोलनकारी बिजयपुर बजारमा भेला भएर नगरपालिका र थानाको अगाडि टायर बाल्दै नाराबाजी गरेका थिए । दिउँसो कार्यक्रम सकिएपनि वातावरण असामान्य रह्यो । यसअघि नै विद्यार्थीहरू तयारीमा रहेको खबर पाएपछि यादवले विद्यार्थी नेता सोनु कुमार यादव र क्याम्पस प्रमुखसँग छलफल गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सहमति गराएका थिए । तर बेलुकी करिब ४ बजे फेरि तनाव चर्कियो ।
शिक्षक रविन्द्र यादवको नेतृत्वमा करिब २५ जनाको समूह पेट्रोल पम्पबाट इन्धन खरिद गरी आगजनी गर्ने योजनामा रहेको सूचनापछि प्रहरीले पेट्रोल बिक्री तत्कालै रोकिदियो । आन्दोलनकारी नगरपालिका पुग्दा त्यहाँ प्रहरी तैनाथ भइसकेका थिए । सम्झाइ बुझाइपछि उनीहरू पछि हटेपनि नाराबाजी जारी रह्यो ।
यद्यपि, लक्ष्मिनियाबाट आएको अर्को समूहले उक्साइरहेपछि आन्दोलनकारीले ढुङ्गामुढा गर्दै थानामा आगो लगाउने धम्की दिन थाले । त्यसबेला यादवले कैदी र कागजात सुरक्षित राख्दै टोलीसहित भित्रै बस्ने निर्णय गरे । आधा घण्टा लगातार सम्झाइ बुझाइ गरेपछि आन्दोलनकारी एक पटक पछि हटे तर ढुङ्गामुढा र आक्रमण ६–७ पटकसम्म दोहोरियो ।
राति करिब ९:३० बजे आन्दोलनकारीले नयाँ माग राखे- नगरपालिकाको गाडी थानाभित्र छ, बाहिर निकाल, जलाउँछौँ । यादवले गाडी नभएको स्पष्ट गरे र उनीहरूलाई भित्रै छिर्नै अनुमति दिए । गाडी नभएको देखेपछि उनीहरू बाहिर निस्किए तर फेरि माग गरे- नगरपालिकाका सबै गाडी प्रहरीमार्फत ल्याएर देऊ । त्यसपछि यादवले निष्कर्ष निकाले कि यी पछिल्ला समूह वास्तविक आन्दोलनकारी होइनन् ।
उनले कडा चेतावनी दिँदै प्रहरीलाई सशक्त रूपमा उभ्याए । अन्ततः आन्दोलनकारी पछि हटे र प्रहरी कार्यालय सुरक्षित रह्यो । घटनापछि रौतहट प्रहरी प्रमुख एसपी नेत्र बिक्रम गिरीले इन्स्पेक्टर यादवको साहस र रणनीतिको प्रशंसा गर्दै भने, “त्यो रात उहाँले असाधारण दृढता देखाउनुभयो, जसले गर्दा प्रहरी कार्यालय मात्र होइन, करोडौँ मूल्य बराबरको सम्पत्ति पनि जोगियो ।”
बिजयपुरको घटना एउटा स्पष्ट उदाहरण हो- संकटको घडीमा नेतृत्व, साहस र समयमै गरिएको निर्णयले ठूला दुर्घटना टार्न सक्छ । जेनजी आन्दोलनका क्रममा रौतहटमा दर्जनौँ सरकारी संरचना जलेर नष्ट हुँदा कुनै पनि स्थानीय नेतृत्व अघि नआएको अवस्थामा इन्स्पेक्टर यादव एक्लै अघि बढे ।
उनको रणनीति तीन बुँदामा केन्द्रित रह्यो- विद्यार्थी नेता र क्याम्पस प्रशासनसँग संवाद गरेर शान्तिपूर्ण सहमति, सम्भावित जोखिम पहिचान गर्दै पेट्रोल बिक्री रोक्ने निर्णय र अन्तिम क्षणमा कठोर चेतावनी दिँदै प्रहरी कार्यालयलाई सुरक्षित राख्ने दृढता । यस घटनाले प्रमाणित गरेको छ कि संकट व्यवस्थापनमा स्थानीय स्तरमै नेतृत्व क्षमतायुक्त अधिकृतको भूमिकाले निर्णायक प्रभाव पार्छ ।




