एक दिन, उज्यालोले सोध्यो
म केवल अनुहारमा देखिन्छु ?
पसिनाले नुहाएको निधार मुसुक्क हाँस्यो जीवन ।
माटाले सोध्यो
म केवल हातको छालामा अनुभूत हुन्छु ?
चर्किएका औँलाहरूले आकाश छामे ।
त्यसपछि
अचानक मेराअघि उभियो
एउटा चित्र रेखा ।
एक जोडी पाइला
धुलाम्मे, नाङ्गा, चर्किएका,
जसरी धर्ती चिरिन्छ पट्पटी
पहिलो वर्षाअघिको प्रतीक्षामा ।
मनभित्र उज्यालो फक्रियो
यी पाइला टेक्दै आउनेछन्
अन्नका सुनौला बाला
माटोको आगन स्पर्श गर्दै ।
देखेँ- मजदुरका हातहरू
खस्रा, कडा,
तर श्रमका कथा कोरिएका
जसका रेखाहरूमा लुकेको छ
जीवनको कठिन
संघर्षका मार्चचित्र
भविष्यका भवनहरूको नक्साका रेखाङ्कन ।
आज मैले देखेँ
मेरी आमाको च्यातिएको फरिया
जसका प्वालहरूबाट
पोखिएको छ माया
जसरी आकाश चिरिएर
घाम भित्रिन्छ धर्तीका रेखा ।
देखेँ
बालकहरू एक छाकका लागि रोइरहेछन्,
जसरी हावाले
पातहरू खेलाइरहन्छ
भोकको रेखा ।
मनमा लाग्यो
संसार अझै पनि
सपनाहरू खोजिरहेछ
अँध्यारा गल्लीहरूमा
खाली पेटको रेखा ।
अन्त्यमा
मैले सौन्दर्यलाई पल्टाएर हेरेँ,
र देखेँ
जीवनको प्रत्येक क्षण
कविता बनेर बगिरहेको छ
जीवनको रेखा ।
हरेक झरना
खोलामा मिल्दैछन
खोलारू नदिमा
बिलिन हूदैछन
नदीहरू समुन्द्रमा बिलीन
अनि समुन्द्र उहि सागर न हो
जीवनको अन्तिम बिन्दू
रेखाहरूको रेखा ।
अत: जीवन रेखा
यथार्थसँग हातेमालो गर्दै
कवितासँगै बगेको सपना
पछ्याउँदै सागर तर्फ
लम्किरहेछ भेट्न
जीवनको अन्तिम सत्य रेखा ।






