काठमाडौं । दाउने सडकखण्डमा लामो समयदेखि जामको समस्या निरन्तर रहँदै आएको छ । दैनिक सयौँ सवारीसाधन आवागमन हुने यो मुख्य राजमार्गमा ट्राफिक व्यवस्थापन कमजोर हुनु र सडक मर्मतमा ढिलाइ हुनु प्रमुख कारण बनेको यात्रुहरूको गुनासो छ ।
धनगढीबाट काठमाडौंतर्फ यात्रा गरिरहेका कमल बोहराका अनुसार, यहाँबाट गाडी समयमा छुटे पनि दाउने पुग्नेबित्तिकै घण्टौँसम्म जाममा बस्नुपर्छ । “कहिले काहीँ ४ देखि ५ घण्टासम्म सवारी अड्किन्छन्,” उनले भने, “यसले यात्रुहरूलाई समयमा गन्तव्य पुग्न निकै कठिन भएको छ।”
उनका अनुसार सरकारको बेवास्ताका कारण समस्या झन् गम्भीर बन्दै गएको हो । बोहराले व्यंग्य गर्दै भने, “सायद नेताहरूले पनि यो बाटो हिँड्ने गरेका भए सडक अहिले सम्म बनिसक्थ्यो होला, तर उनीहरू नहिँड्ने भएकै कारण निर्माण कार्य ढिलो र सुस्त भएको हो ।”
दाउने सडक अहिले पनि असमान, धुलाम्मे र संकुचित रहेको स्थानीयहरूको भनाइ छ । विशेषगरी मालबाहक ट्रकहरूको अत्यधिक चापका कारण आवागमन अझै कठिन बनेको छ ।
स्थानीयवासीहरूले पटक–पटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको भन्दै असन्तुष्टि जनाएका छन् । यात्रु र स्थानीय दुवैले सम्बन्धित निकायलाई तत्काल सडक मर्मत र ट्राफिक व्यवस्थापन सुधारका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन् ।




