आखिर कोही रहेनन्
आफ्नो भन्ने यहाँ,
जन्म लिएर हुर्कि बढें म जहाँ
भिजिट भिसामै भएपनि
विदेशिनु बाध्यता भो तहाँ
जब पौरख गरेर जिउने विकल्प
पनि बचेन जहाँ
न त शहर पसेर धन कमाउन सकियो
न आफ्नै गाउँमा रम्न सकियो
विदेश बसिएर त आईयो
तर, गाउँ मासिएर
अलपत्र बनेछ
शहर बनाउने डोजरे होडमा
कुरुप उजाड थलो पो बनेछ,
जहाँ न वर-पीपलको शितल
छहारी देख्न पाईयो
न त आँगनमा बकेनाको
बोट नै देख्न पाईयो
बरु, घरैपिछे बग्रेल्टी
भोटे टाल्चा झुण्ड्याइएको
अन्जान वस्तीमा यदाकदा
बुढापाकाहरु अपरिचित
अनुहारको भीडमा अत्यासलाग्दो
आशामा झुल्किएको भेटियो
आफ्नै देश विरानो
पो लाग्न थाल्यो
विदेशबाट दु:खले आर्ज्याको
धन पनि लापता
आफ्नै सँगिनी पनि बेपत्ता !
न गाउँको घर रह्यो
न शहरमा टिक्ने ठाउँ
यो कस्तो मुलुकमा जन्मिएछु ?
जहाँ आफ्नै अस्तित्व
पनि दाउमा पर्यो !
यहाँ भने नागरिकको पहिचान ठेग्न
नसकेर नागरिक प्रमाणपत्रको
बदलामा राष्ट्रिय परिचय पत्रको
बोझ करको भारिसहित
हरेक जनताको थाप्लोमा बढेछ
ऊफ् !
देश, आफन्त, संस्कृति, गाँउ
र शहर जम्मै विरानो भएछ यहाँ
आफ्नो भन्ने आखिर
कोहीं केहीं रहेनन यहाँ !!






