काठमाडौं । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौँडालाई जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्गका रूपमा चिनिएको कान्ति लोकपथ सात दशक बितिसक्दा पनि अधुरै छ ।
२०१३ सालमा शुरू भएको आयोजना अझै पूर्ण हुन नसक्दा यसलाई नेपालका दीर्घकालीन र ढिलासुस्तीले ग्रस्त पूर्वाधार आयोजनाको उदाहरणका रूपमा लिन थालिएको छ । ७९ किलोमिटर लामो कान्ति लोकपथ हालसम्म करिब ७५ प्रतिशतमात्र सम्पन्न भएको छ ।
आयोजना शुरू हुँदाको पुस्ता अवकाश उमेरमा पुग्दा पनि सडक निर्माण नसकिँदा राज्यको योजना कार्यान्वयन क्षमतामाथि प्रश्न उठेको छ । कान्ति लोकपथ आयोजनाका इन्जिनियर राजन पाण्डेले बजेट अभाव, जटिल भूगोल, प्राकृतिक विपद् र संरचनागत समस्याका कारण आयोजना पटक-पटक पछाडि धकेलिएको बताए ।
उनका अनुसार हालको लक्ष्यअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ सम्म आयोजना सम्पन्न गर्ने योजना छ । हाल सडकको करिब चार किलोमिटर खण्ड अझै कालोपत्र हुन बाँकी छ । ती क्षेत्रमा एक लेनमात्र सडक रहेको र चट्टान काटेर दुई लेन विस्तार गर्नुपर्ने भएकाले काम जटिल बनेको आयोजनाले जनाएको छ ।
साथै, सडक सीमा निर्धारण नहुँदा घरटहरा, रुख, विद्युत् खम्बा, खानेपानी र ढलका संरचना सडक क्षेत्रमै परेका छन् । ढुङ्गा-बालुवा उत्खनन सम्बन्धी कानुनी जटिलताले पनि काम प्रभावित भएको छ । आयोजना अन्तर्गत बागमती नदीमा निर्माणाधीन दुई लेनको पुल पनि समयमै सम्पन्न नहुने देखिएको छ ।
९० मिटर लामो उक्त पुल १८ करोड रुपैयाँ लागतमा निर्माण हुँदैछ । हाल पाइलिङ र जग हाल्ने काम भइरहेको भए पनि चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तभित्र सम्पन्न हुन नसक्ने आयोजनाले स्पष्ट पारेको छ । कान्ति लोकपथको शून्य किलोमिटर काठमाडौंतर्फ ललितपुरको टीकाभैरव र हेटौँडातर्फ बुद्धचोक निर्धारण गरिएको छ ।
यसमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ४० किलोमिटर सडक खण्ड पर्छ । चालु आर्थिक वर्षदेखि टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म सडकको ‘एलाइन्मेन्ट’ परिवर्तन गरिएको छ । चालु आर्थिक वर्षमा आयोजनाका लागि ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
हालसम्म करिब चार अर्ब रुपैयाँ खर्च भइसकेको छ । शुरूमा छ अर्ब रुपैयाँ अनुमान गरिएको लागत संशोधन हुँदै हाल आठ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जसले आयोजनाको लागत व्यवस्थापनमाथि समेत प्रश्न उठाएको छ । यद्यपि कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा आएमा तराई-काठमाडौं आवागमनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।
हाल प्रयोग हुँदै आएको हेटौँडा-नारायणगढ-मुग्लिङ-नागढुङ्गा मार्ग (२२२ किलोमिटर) को सट्टा ७९ किलोमिटरमै हेटौँडाबाट काठमाडौँ पुग्न सकिनेछ । यसले दूरी एक सय ३२ किलोमिटर घटाउने, समय र इन्धन बचत गर्ने तथा यात्राको जोखिम कम गर्ने विश्वास गरिएको छ ।




