बारा । बाराको जीतपुरसिमरा उपमहानगरापलिका १ पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयका प्रमुखको कार्यकक्षमा आगलागी भएको छ । विद्युत सर्ट भएर मंगलबार राति कार्यालय प्रमुख डिल्लीराज लेखकको कार्यकक्षमा आगलागी भएको हो ।
आगलागीबाट कार्यालय भवनको दोस्रो तल्लामा रहेको कार्यकक्ष पूर्णरुपमा जलेर नष्ट भएको छ । कार्यकक्षभित्र रहेका ल्यापटप, एसी, फर्निचर लगायतका सबै सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले कार्यकक्षमा आगो लागेको देखेपछि अन्यलाई खबर गरेका थिए । सुरक्षाकर्मी र कर्मचारीले फायर एक्स्टिङ्गुइजरको सहायतमा आगो नियन्त्रणमा ल्याएका हुन् ।
कार्यालयका प्रमुख लेखकले राति करिब १२ बजेको समयमा कार्यकक्षमा आगो लाग्दा सामाग्री जलेर नष्ट भएको बताए । लेखकले सुरक्षाकर्मी र कर्मचारीले आगो नियन्त्रणमा ल्याएको जानकारी दिए । आगलागीबाट कति क्षति भएको भन्ने यकिन हुन बाँकी रहेको लेखकको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले विद्युत सर्ट भएर आगो लागेको र ल्यापटप, एसी, फर्निचरजस्ता सामग्री जलेर नष्ट भएको बताए । पण्डितले कति मूल्य बराबर क्षति भएको भन्ने खुल्न बाँकी रहेको बताए ।






