काठमाडौं । लागुऔषध सम्बन्धी मुद्दा मिलाइदिने आश्वासन दिँदै सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत एक प्रहरी वरिष्ठ हवल्दार पक्राउ परेका छन् । केही महिनाअघि मात्र ‘महिनाको उत्कृष्ट प्रहरी’को रूपमा सम्मानित भएका उनी शनिबार साँझ ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार लागूऔषध सम्बन्धी मुद्दा मिलाइदिने भन्दै घुस मागिएको उजुरीका आधारमा निगरानी राखिएको थियो । सोही क्रममा रकम लेनदेन भइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
अख्तियार स्रोतका अनुसार क्षेत्रीले मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग तीन लाख रुपैयाँ माग गरेका थिए । लामो बार्गेनिङपछि प्रारम्भिक किस्ताका रूपमा ५० हजार रुपैयाँ बुझ्दै गर्दा उनी रंगेहात पक्राउ परेका हुन् ।
पक्राउ परेका क्षेत्रीलाई हाल अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ । घटना बाहिरिएपछि प्रहरी संगठनभित्र पनि तरंग पैदा भएको छ । कारण, केही महिनाअघि मात्र कास्की प्रहरीले उनलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान गरेको थियो ।
२०८१ सालको पुस महिनामा गरेको कामको मूल्याङ्कनका आधारमा उनलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरिएको थियो ।
त्यतिबेला कास्की प्रहरी नेतृत्वले क्षेत्रीले अपराध अनुसन्धान शाखामा रहेर सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गरेको थियो ।
उनलाई इमानदार, कर्तव्यनिष्ठ र व्यवसायिक रूपमा दक्ष प्रहरीका रूपमा चित्रित गरिएको थियो । तर, सम्मान पाएको केही महिनामै उनी घुस प्रकरणमा पक्राउ परेपछि प्रहरी संगठनभित्रको मूल्याङ्कन प्रणालीमाथि प्रश्न उठ्न थालेको छ । अख्तियारले पक्राउ परेका क्षेत्रीमाथि घुस लेनदेन सम्बन्धी प्रमाण संकलन गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।






