काठमाडौं । मधेस प्रदेशका सांसद एवम् पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई चार वर्ष एक महिना कैद सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा जेठ ४ गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मंगलबारलाई पेसी तोकेको थियो ।
विशेष अदालतका अध्यक्ष श्री सुदर्शनदेव भट्ट सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । उपभोक्ता समितिहरूका तर्फबाट घुस कमिसन बापत उनले कुल ३८ लाख ५० हजार लिएको ठहर अदालतले गरेको छ ।
अदालतले सजाय निर्धारण गर्दा निजको पदीय हैसियत र भ्रष्टाचारको परिमाणलाई मुख्य आधार बनाएको छ । सिंह मधेश प्रदेश अन्तर्गत महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्यसमेत भएकाले विशेषले थप सजाय समेत तोकेको छ ।
सिंहलाई ४ वर्ष कैद र बिगो बमोजिम ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तोकिएको छ । साथै, सार्वजनिक पदमा बहाल रहेको अवस्थामा भ्रष्टाचार गरेकाले सोही ऐनको दफा २४ बमोजिम थप १ महिना कैद सजाय हुने फैसला भएको विशेषले जनाएको छ ।






