रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ५४ हजार रुपैयाँभन्दा बढी नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डीएसपी रुपा लाबुङलाई प्राप्त गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार साँझ डावरी क्षेत्रमा चेकजाँच गर्ने क्रममा चन्द्रपुर ६ निवासी २६ वर्षीय निराश कुमार सापकोटालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सापकोटाको शरीर तथा उनले बोकेको पर्स खानतलासी गर्दा कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ०.०८० ग्राम ब्राउन सुगर फेला परेको थियो । साथै उनको साथबाट ३२ हजार २९० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त लागुऔषध सापकोटालाई बिक्री गरेको आशंकामा चन्द्रपुर ६ शान्तिनगर टोलका ३० वर्षीय विकास न्यौपानेलाई समेत पक्राउ गरिएको छ । न्यौपानेको साथबाट २२ हजार ३९० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको तथा उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी गौतमले जानकारी दिए ।




