वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा केही दिनदेखि जारी सरसफाइकर्मीको आन्दोलन आइतबार औपचारिक सहमतिसँगै समाप्त भएको छ । महानगरपालिकाको समन्वयमा आन्दोलनरत श्रमिक र सरसफाइ व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनीबीच सहमति भएपछि सरसफाइकर्मी पुनः काममा फर्किएका छन् ।
महानगरपालिकाको सभाहलमा कार्यवाहक प्रमुख इम्तियाज आलमको पहल तथा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहोराको उपस्थितिमा भएको वार्ताले आन्दोलनको निकास निकालेको हो ।
छलफलमा जनप्रतिनिधि, वडाध्यक्ष, महानगरका कर्मचारी, ठेकेदार कम्पनी र आन्दोलनरत श्रमिकका प्रतिनिधिको सहभागिता रहेको थियो । सहमतिअनुसार अब सरसफाइकर्मीको तलब प्रत्येक महिनाको ५ देखि १० गतेभित्र अनिवार्य रूपमा भुक्तानी गरिनेछ ।
साथै नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक लागू गरिने र दैनिक ८ घण्टाभन्दा बढी काम गराए कानुन बमोजिम ओभरटाइम भत्ता उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
त्यसैगरी, कामका क्रममा दुर्घटना वा घाइते भएका श्रमिकको प्राथमिक उपचार खर्च ठेकेदार कम्पनीले व्यहोर्ने, आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउने तथा श्रमिकमाथि कुनै पनि प्रकारको दुर्व्यवहार नगर्ने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ ।
नागरिकतासम्बन्धी प्राविधिक समस्याका कारण रोजगारी गुम्ने जोखिममा रहेका रैथाने नेपाली सरसफाइकर्मीलाई कामबाट नहटाइने पनि सम्झौतामा उल्लेख गरिएको छ ।
कार्यवाहक प्रमुख आलमले महानगरको सरसफाइ सेवा प्रभावित हुन नदिन श्रमिकका जायज मागलाई सम्बोधन गर्दै वार्तामार्फत समाधान खोजिएको बताए । उनले सरसफाइकर्मी नगरलाई स्वच्छ र व्यवस्थित राख्ने प्रमुख आधार भएकाले उनीहरूको श्रम र अधिकारको सम्मान गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताए ।
सम्झौतापत्रमा सरसफाइ व्यवस्थापनको जिम्मा पाएको एन के इन्टरनेसनल म्यानेजमेन्ट प्रालिका सञ्चालक शिवकुमार गुप्ता तथा आन्दोलनरत श्रमिकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
आन्दोलन समाप्त भएसँगै केही दिनदेखि प्रभावित फोहोर संकलन तथा व्यवस्थापनको काम आइतबारदेखि पुन: नियमित रूपमा सञ्चालनमा आएको महानगरपालिकाले जनाएको छ ।




