रौतहट । रौतहटको पश्चिमी क्षेत्रमा पर्ने लालबकैया नदीबाट टेन्डरविनै नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानी भइरहेको भन्दै स्थानीयवासीले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा केही जनप्रतिनिधिमाथि मिलेमतोको आरोप लगाएका छन् ।
स्थानीयका अनुसार इलाका प्रहरी कार्यालय विजयपुर–लक्ष्मिनियाअन्तर्गत रहेको प्रहरी चौकी हरिनगर जंगलसैयाको कार्यक्षेत्रभित्र पर्ने गर्जा पुल आसपासबाट बिहीबार पनि ढुंगा, गिटी र बालुवाको अवैध उत्खनन तथा ढुवानी भइरहेको देखिएको छ ।
स्थानीयले प्रहरी चौकी हरिनगर जंगलसैयाका प्रमुख असई रामेश्वर महतोको मिलेमतोमा यस्तो गतिविधि भइरहेको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
त्यस्तै, इलाका प्रहरी कार्यालय विजयपुर, सशस्त्र प्रहरी बलको विजयपुर बेस क्याम्प तथा अस्थायी बेस क्याम्प पोखरभिण्डाको समेत मिलेमतोमा नदी दोहन भइरहेको आरोप स्थानीयको छ ।
नेपाल सरकारको नीतिअनुसार असार महिनादेखि नदीजन्य पदार्थको उत्खनन पूर्ण रूपमा बन्द गर्नुपर्ने व्यवस्था छ । तर गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाका विभिन्न घाटमा असार १९ गतेसम्म पनि नदी दोहन भइरहेको स्थानीयको भनाइ छ ।
उनीहरूका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा केही जनप्रतिनिधिको अप्रत्यक्ष संरक्षणमा अवैध उत्खनन भइरहेको छ । स्थानीयका अनुसार गुजरा र फतुवा विजयपुर नगरपालिकाअन्तर्गतका विभिन्न घाटबाट दैनिक सयौं ट्र्याक्टरले ढुंगा, गिटी र बालुवा उत्खनन तथा ढुवानी गरिरहेका छन् ।
आर्थिक वर्ष २०८२/८३ का लागि दुवै स्थानीय तहले हालसम्म नदीजन्य पदार्थको ठेक्का प्रक्रिया टुंग्याउन नसकेको उनीहरूको दाबी छ । टेन्डर प्रक्रिया सम्पन्न नभएको अवस्थामा नदीजन्य पदार्थको उत्खनन पूर्ण रूपमा रोक्नुपर्ने कानुनी व्यवस्था रहे पनि जंगलसहिया, सिमरी, राँगी, बोटावा लगायतका घाटबाट बिहानदेखि साँझसम्म अवैध उत्खनन र ढुवानी भइरहेको स्थानीयले बताएका छन् ।
स्थानीय स्रोतका अनुसार नदीबाट सामग्री ढुवानी गर्ने ट्र्याक्टरबाट विभिन्न सुरक्षा निकायलाई मासिक रकम बुझाएर निर्बाध रूपमा ढुवानी हुने गरेको आरोपसमेत लगाइएको छ । नदीजन्य पदार्थ ढुवानीमा केही जनप्रतिनिधिका ट्र्याक्टर समेत प्रयोग भइरहेका कारण उनीहरू मौन बसेको स्थानीयको दाबी छ ।
यसैबीच, नदीजन्य पदार्थको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
यता, रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले घटनाबारे छानबिन भइरहेको जानकारी दिँदै दोषी देखिए कानुनबमोजिम तत्काल कारबाही गरिने बताएका छन् ।




