रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, शान्ति सुरक्षा, राजस्व संकलन तथा सेवा प्रवाह सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार कार्यालयले एक वर्षको अवधिमा हजारौँ सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गर्नुका साथै सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउन विभिन्न सुधारात्मक कदमहरू अघि बढाएको छ ।
कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षभर १२ हजार २७२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने ११ हजार १०० जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।
यसैगरी ६३८ जनाले वैवाहिक अंगीकृत नागरिकता, ८ जनाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता तथा ८ जनाले बाबुको पहिचान नखुलेपछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् ।
राहदानी सेवातर्फ ८ हजार ६०७ जनाले राहदानी लिएका छन् भने २३१ जनाले हुलाकमार्फत राहदानी प्राप्त गरेका छन् । कार्यालयले ८ हजार १७९ जनाको राहदानी सिफारिस गरेको छ भने २५ जनालाई द्रुत सेवा उपलब्ध गराएको जनाएको छ ।
राष्ट्रिय परिचयपत्रतर्फ ३२ हजार ९९० जनाको दर्ता भएको छ भने २ हजार ६२५ जनालाई परिचयपत्र वितरण गरिएको छ । यस अवधिमा ७ हजार ८०९ जनालाई निःशुल्क सिफारिस, ८ हजार १७९ जनाको नि:शुल्क राहदानी फाराम भरिएको, १२९ वटा नाबालक परिचयपत्र जारी गरिएको तथा ३ हजार १३२ वटा विभिन्न सिफारिस तथा प्रमाणीकरण सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ ।
प्रशासनले आर्थिक वर्षभर १ हजार २५३ वटा ठाडो उजुरी दर्ता गरी सम्बोधन गरेको छ । यस अवधिमा अभद्र व्यवहारसम्बन्धी २४०, जुवासम्बन्धी २ तथा बीमा र क्षतिपूर्तिसम्बन्धी ४१ वटा मुद्दा तथा निवेदनको सेवा प्रवाह गरिएको छ ।
साथै २१४ वटा हातहतियार इजाजतपत्र नवीकरण, १ वटा नामसारी, १ वटा लगत कट्टा, २० वटा संस्था दर्ता तथा २७२ वटा संस्था नवीकरण गरिएको छ । राजस्व संकलनतर्फ राहदानी शुल्कबाट मात्रै ५ करोड ८१ लाख ८ हजार रुपैयाँ संकलन भएको छ ।
त्यस्तै हातहतियार इजाजतपत्र दस्तुरबाट ९ लाख २२ हजार २५० रुपैयाँ, न्यायिक दण्ड–जरिवाना तथा जफतबाट ५ लाख ७१ हजार ६ सय रुपैयाँ, कम्पनी दर्ता दस्तुरबाट ३ लाख १७ हजार ३ सय रुपैयाँ, परीक्षा शुल्कबाट १३ हजार ३ सय रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट २७ हजार रुपैयाँ तथा अन्य राजस्व शीर्षकबाट १२ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा ३ करोड ३५ लाख ५६ हजार २८२ रुपैयाँ आम्दानी भएको छ भने ३ करोड ९ लाख २४ हजार ९३१ रुपैयाँ खर्च भएको छ । बाँकी रकम बैंक मौज्दातका रूपमा रहेको प्रशासनले जनाएको छ ।
शान्ति सुरक्षा व्यवस्थापनअन्तर्गत प्रशासनले भारतसँग सीमा जोडिएको जिल्लाका सम्बन्धित निकायसँग ३ पटक समकक्षी बैठक, जिल्लास्थित कार्यालय प्रमुखहरूको १२ वटा बैठक, ३ पटक कारागार निरीक्षण, ६० पटक जिल्ला सुरक्षा समिति बैठक, २४ पटक सुरक्षा निकायको निरीक्षण तथा स्थानीय तहमा शान्ति–सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी ६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
यसैगरी १३ पटक सरकारी कार्यालय निरीक्षण, २५ पटक अनुगमन तथा राजमार्गलाई अवरुद्धरहित सञ्चालन गर्न कार्ययोजना र रोस्टर तयार गरी कार्यान्वयनमा ल्याइएको प्रशासनले जनाएको छ । यस अवधिमा प्रशासनले २ थान पेस्तोल, २ थान कटुवा बन्दुक, १ थान १२ बोर दुईनाले बन्दुक तथा १३ थान गोली बरामद गरेको जनाएको छ ।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कार्यालयले राहदानी र राष्ट्रिय परिचयपत्रका लागि निःशुल्क फाराम भर्ने व्यवस्था, टोकन प्रणालीमार्फत ‘फर्स्ट कम, फर्स्ट सर्भिस’ सेवा, नागरिक सहायता कक्ष, गुनासो व्यवस्थापन प्रणाली, शुद्ध तथा चिसो खानेपानी, कुलर, पंखा, प्रतीक्षालयमा टेलिभिजन, हुलाक टिकट सेवा, कार्यालय अभिलेखको डिजिटाइजेसन, NEOC (National Emergency Operation Center) व्यवस्थापन सुदृढीकरण, एकद्वार सेवा प्रणाली, माइकिङमार्फत सूचना प्रवाह तथा ‘बिचौलिया प्रवेश निषेध’ अभियान सञ्चालन गरेको जनाएको छ ।
त्यसैगरी हिन्दु मुस्लिम समुदायबीच धार्मिक सद्भाव कायम राख्न धार्मिक सद्भाव समितिलाई सक्रिय बनाइएको, स्थानीय तहको मागअनुसार सार्वजनिक अतिक्रमण हटाउने कार्यलाई सहजीकरण गरिएको तथा विपद् व्यवस्थापनमा सरोकारवाला निकायहरूको जिम्मेवारी स्पष्ट गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।






