रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको छ । बिहीबार राति गढीमाई नगरपालिका ७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा उनीमाथि उक्त घटना भएको हो ।
सांसद पौडेलले घटनाको पुष्टि गर्दै कार्यक्रमपछि फर्किने तयारी गरिरहेका बेला मास्क लगाएका २–३ जना व्यक्तिले पछाडिबाट आएर ढाडमा कालो मसी दलेर फरार भएको बताए । उनका अनुसार उनीहरू अगाडिबाट नभई पछाडिबाट नजिक आएर चिनजानको व्यक्तिले अँगालो हालेजस्तै गरी कालो पदार्थ दल्दै भागेका थिए ।
उक्त कार्यक्रममा स्थानीय नागरिकका समस्या, मलखादको अभावलगायत विषयमा छलफल गरिएको थियो । छलफल लम्बिँदा कार्यक्रम राति करिब ८ बजेदेखि सवा ८ बजेसम्म सञ्चालन भएको थियो ।
सांसद पौडेलका अनुसार मसी प्रहार गर्ने समूहले हातमा रातो झण्डा र पर्चा बोकेको थियो । उनीहरूले आफूलाई ‘मधेश मुक्ति अभियान’सँग आबद्ध रहेको संकेत दिएको उनले बताए । घटनापछि कार्यक्रममा सहभागी स्थानीय र सहयोगीहरूले उनीहरूलाई पछ्याउने प्रयास गरे पनि अँध्यारोको फाइदा उठाउँदै उनीहरू भाग्न सफल भएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी अनुसन्धानमा जुटेको छ । सांसद पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न एक व्यक्तिको पहिचान भएको छ । ‘फगु’ नामले चिनिने व्यक्तिमाथि प्रहरीको शंका रहेको भएपनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






