सुनसरी । सप्तकोशीका माथिल्लो क्षेत्रमा रहेका सहायक नदीमा पानीको बहाव बढेपछि सुनसरी प्रहरीले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार सूचना जारी गर्दै सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढिरहेको जनाएको हो ।
प्रहरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । प्रहरीले नदी किनारमा गएर माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेजस्ता जोखिमपूर्ण काम नगर्न पनि अनुरोध गरेको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सचेत रहन र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरिएको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरीले नदीको अवस्था हेरेर अनावश्यक रूपमा नदी किनारमा नजान र जोखिमपूर्ण गतिविधिबाट टाढा रहन पनि आग्रह गरेको छ ।




