काठमाडौं । सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवालसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार जयसवाल र तत्कालीन वन अधिकृत राजु क्षेत्रीविरुद्ध ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
त्यस्तै, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टविरुद्ध ५८ लाख ४५ हजार ८ सय २५ रुपैयाँ, वडा नम्बर १ का अध्यक्ष गेमे खड्काविरुद्ध ३ लाख ७१ हजार रुपैयाँ र वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीविरुद्ध १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
यसैगरी, अभिमान चौधरीविरुद्ध ७३ हजार ६ सय ४६ रुपैयाँ, नन्दु गिरीविरुद्ध ३० हजार ९ सय ७० रुपैयाँ, झविन्द्रप्रसाद भण्डारीविरुद्ध १ लाख ४१ हजार २ सय २६ रुपैयाँ र केशरबहादुर चौधरीविरुद्ध ३६ हजार ६ सय १० रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको छ ।
आयोगका अनुसार राप्ती गाउँपालिका १ पाखापानीदेखि लमही नगरपालिका ४ अनंहवासम्मको पूर्व-पश्चिम राजमार्गको दायाँ बायाँ सडक क्षेत्राधिकारभित्र रहेका सिमल, सिसौलगायत विभिन्न जातका रुख काटेर हानि नोक्सानी पुर्याएको तथा त्यसक्रममा भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरूले रुख कटान तथा त्यसबाट हुने हानि नोक्सानीमा अनियमितता गरेको अनुसन्धानबाट देखिएको आयोगको दाबी छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो असुल तथा जरिवानाको मागदाबी गर्दै आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।




