जनकपुरधाम । जनमत पार्टीका पूर्वकोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई ललितपुर जिल्ला अदालतले ठगीसम्बन्धी मुद्दामा सफाइ दिएको छ ।
अध्यक्ष सीके राउतको निर्देशनमा तत्कालीन पार्टी प्रवक्ता डा. शरद सिंह यादवले दिएको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा अदालतले यादवलाई सफाइ दिएको हो ।
न्यायाधीश हरिसिंह धामीको इजलासले अभियोग दाबीअनुसार कसुर पुष्टि हुन नसकेको ठहर गर्दै यादवलाई सफाइ दिने फैसला गरेको जनाइएको छ ।
पार्टीले ललितपुरको इमाडोलस्थित कार्यालय तथा पार्टीको सम्पत्ति हस्तान्तरण नगरेको र आर्थिक अनियमितता गरेको आरोप लगाउँदै यादवविरुद्ध ठगी तथा विश्वासघातसम्बन्धी जाहेरी दिएको थियो ।
सोही जाहेरीका आधारमा उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । अदालतले मुद्दामा पेस गरिएका प्रमाण, कागजात तथा तथ्यहरूको विश्लेषणपछि यादवविरुद्ध लगाइएको ठगीको अभियोग पुष्टि हुने आधार नपुगेको निष्कर्ष निकालेको हो ।
यादवलाई ७ वैशाख २०८२ मा ठगीसम्बन्धी कसुरमा सप्तरीबाट प्रहरीले पक्राउ गरेको थियो । उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुलउपर गर्नुपर्ने मागसहित मुद्दा दायर गरिएको थियो ।
अदालतको फैसलासँगै उक्त मुद्दामा यादवले सफाइ पाएका छन् ।




