पर्सा । पर्सा प्रहरीले नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय छोरा नासिर अहमदलाई हत्या आरोपमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार नासिरलाई ज्यानसम्बन्धी कसुर र सार्वजनिक न्यायविरुद्धको कसुरमा पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई शुक्रबार साँझ वीरगन्ज महानगरपालिका १३ मुर्लीबाट नियन्त्रणमा लिएको जनाएको छ । नासिरमाथि नातामा साली पर्ने एक महिलाको हत्या गरेको आरोप छ ।
प्रहरीका अनुसार २०७८ सालमा एक महिलाको शव श्मशान घाटमा दफन गर्ने क्रममा पनि नासिरलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि घटनाबारे अनुसन्धान अघि बढाउँदै आएको प्रहरीले करिब पाँच वर्षपछि उनलाई पुन: पक्राउ गरेको हो ।
उक्त घटनामा यसअघि पहुँचका आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि नबढाइएको आरोप समेत लागेको थियो । प्रहरीले अहिले पुन: अनुसन्धान अगाडि बढाएपछि घटनामा संलग्न रहेको भनिएका अन्य आरोपितहरू भने फरार रहेको जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।




