रौतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसारमा ईभी गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक युवक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका ५ सन्तपुर दोस्तियाका २० वर्षीय सन्देश यादव रहेका छन् । दुर्घटनामा घाइते कटहरिया नगरपालिका ८ बलुवा टोलका २० वर्षीय राजगीर यादवको वीरगञ्जमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बुधबार साँझ गुजरा नगरपालिका ३ स्थित धनसार गेटबाट करिब एक किलोमिटर दक्षिणतर्फ कल्भर्ट नजिक दुर्घटना भएको हो ।
निजगढतर्फबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०५९५ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको बा ८५ प ४६२५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा सन्देशको हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । त्यस्तै, राजगीरको दाहिने हात, दुवै खुट्टा तथा शरीरका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक रादेसकुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुवै घाइतेलाई उद्धार गरी चन्द्रपुरस्थित सिभिल अस्पताल पुर्याएको थियो ।
उपचारकै क्रममा साँझ करिब ७ बजे सन्देशको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचारपछि राजगीरलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




